पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई जे मन लाग्यो त्यही नबोल्न भनेका छन् ।

पोखरामा नेपाल मगर सङ्घको गण्डकी प्रदेश सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनतालाई भ्रममा पार्ने गरी जे मन लाग्यो त्यही नबोल्न सभापतिलाई आग्रह गरेका हुन् ।

‘पार्टीले संसद् विघटनलाई असंवैधानिक अलोकतान्त्रिक कदम भनेको छ, नेताहरू जनतालाई कन्फ्युजनमा पार्ने कुरा बोलेर हिँड्ने ?, नेता भएर जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?,’ वरिष्ठ नेता पौडेलले देउवातर्फ लक्षित गर्दै भने ।

उनले तानाशाही तन्त्रको विरोध गर्नु काँग्रेसको कर्तव्य भएको भन्दै प्रधानमन्त्री केपी ओलीले संविधानमाथि हमला गरेकाले अदालतले के गर्ला भनेर हेरेर बस्ने नभई लोकतन्त्रको रक्षाका लागि काँग्रेस अघि बढ्नु पर्ने बताए ।