टिकट वितरण गर्ने सम्पूर्ण अधिकार जिल्ला सभापतिलाई दिनुपर्छ: महामन्त्री कोइराला

146

कावासोती । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले प्रतिनिधि सभा निर्वाचनको टिकट वितरणको सम्पूर्ण अधिकार जिल्ला सभापतिलाई दिनु पर्ने बताएका छन् । शुक्रवार पूर्वी नवलपरासीमा नेपाल प्रेस युनियनले आयोजना गरेको सूर्यभक्त पतना देवी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सङ्घीयता आए पछि राज्यका विभिन्न निकायको विकेन्द्रीकरण भयो त्यसै गरी अब पार्टीलाई पनि विकेन्द्रीकरण गर्नु पर्ने र टिकट वितरणको सम्पूर्ण अधिकार जिल्ला सभापतिलाई दिनु पर्ने बताएका हुन । पछिल्लो समय जिल्ला सभापतिहरूबाट आफ्नो भूमिका बढाउनु पर्ने माग उठिरहेको बेला कोइरालाको यस्तो भनाई आएको हो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कोइरालाले आगामी दिनमा कम्युनिस्टहरू सँग कुनै पनि कुरा सहकार्य नहुने समेत बताए । आन्दोलन, सत्ता बाडफाड या निर्वाचन कुनै पनि मुद्दामा काङ्ग्रेसले कम्युनिस्ट सँग सहकार्य नगर्ने बताउँदै कोइरालाले काङ्ग्रेस गुट उपगुटमा नलागेर एक ढिक्का हुने हो भने फेरि पनि काङ्ग्रेस पहिलो पार्टी हुने बताए ।

यसै बिच नेपाल प्रेस युनियनले स्थापना गरेको सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई प्रदान गरिएको छ । २५ हजार नगद राशि र ताम्र पत्र सहित पोख्रेललाई महामन्त्री कोइरालाले पुरस्कृत गरेका थिए । यस अघि यो पुरस्कार वरिष्ठ पत्रकारहरू कुलचन्द्र वाग्ले , धर्मचन्द्र झा, पोषण केसी , रामजी दाहाल , किशोर नेपाल लगायतलाई प्रदान गरिएको थियो ।

 प्रजातन्त्र सेनानी एवं नेपाली काङ्ग्रेसका नेता सूर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतनादेवी अधिकारीको स्मृतिमा उहाँका छोरा काङ्ग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले पुरस्कारको स्थापना गरेका हुन ।

पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष होमराज रानाभाट , नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा, नेविसंघ पुर्व महामन्त्री कुन्दनराज काफ्ले, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव केबि राना, पत्रकार शिव लम्साल , काङ्ग्रेस नेताहरू मदनभक्त अधिकारी , ओमकला गौतम, महेन्द्र ध्वज जिसि, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य , नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मचन्द्र झा, काङ्ग्रेस जिल्ला सभापति विष्णु लामिछाने, गण्डकी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल प्रेस युनियन नवलपुरका सभापति वीरेन्द्र पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।