महरा र बाँस्कोटा काण्ड सार्वजनिक गरेका पत्रकार शिवाकोटीलाई बासु रोटरी सुशासन अवार्ड प्रदान

289

काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटी र आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई शुक्रबार एक भब्य समारोहबीच प्रदान गरिएको छ ।

तत्कालिन संचार मन्त्री गोकुल बाँस्कोटा र सभामुख कृष्ण बहादुर महरा प्रकरण पहिलोपटक सार्वजनिक गरेका प्रधान सम्पादक शिवाकोटीलाई रोटरी वर्ष २०१९–२० अवसर पारेर पाँच लाख रुपैंयाँ राशी नगदसहित अवार्ड प्रदान गरिएको हो ।

प्रत्येक बर्ष एक जना पत्रकारलाई प्रदान गरिने एकमुष्ट दश लाख रुपैंयाँ राशीको उक्त अवार्ड रोटरी वर्ष २०१९–२० मा दुई पत्रकारलाई प्रदान गरिएको हो ।

रोटरी इन्टरनेशनलका अध्यक्ष शेखर मेहता, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन, अवार्डका संस्थापक तथा रोटरी क्लब अफ यल (पाटन ललितपुर) का पूर्व अध्यक्ष सुरेन्द्र गोविन्द जोशी, श्रीमती बद्रीलक्ष्मी जोशीलगायतले पुरस्कार राशी र सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले शिवाकोटी र रिजाललाई पाँच पाँच लाख रुपैंयाँ राशीको उक्त अवार्ड प्रदान गरिएको हो ।