काठमाडौं । नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्‍नलाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रको खिल्ली उडाउँदै आममाफी दिएपछि दलले आपत्ति जनाएको छ ।
नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्‍नेतले एक विज्ञप्ति जारी गर्दै हत्याजस्तो गम्भीर अपराध गर्ने अपराधीहरु फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसीलाई आममाफी दिएकोप्रति नेपाल दरुण दल केन्द्रीय समितिको गम्भीर आपत्ति जनाउँदै निन्दा र भर्त्सना गरेका छन् ।

उनले नेकपा ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर अपराध गर्नेलाई पनि प्रजातन्त्र दिवसकै दिन आममाफी दिनु प्रजातन्त्रकै खिल्ली उडाउनु भएकोसमेत बताएका छन् ।

२०६८ साल पुसमा जिल्ला कारागार चितवनमा तरुण नेता शिव पौडेलको हत्या गरिएको थियो । विज्ञप्तिमा भनिएको छ, “जेल भित्रै हत्याजस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिन देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छीत कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गईरहेको प्रष्ट भएको छ ।”

सरकारको यस्तो गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरुलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरुलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयकोविरुद्ध चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्न नेपाल तरुण दल केन्द्रीय समिति दलको चितवन जिल्ला समितिलाई निर्देशनसमेत दिएको छ ।