मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार विराटनगरमा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड-माधबकुमार नेपाल नेतृत्वमा नेकपाकै बहुमत पक्षसहित सबै दलहरु आन्दोलनमा रहेको बेला प्रधानमन्त्रीले पनि आन्दोलनको धम्की दिएका हुन् ।

ठूलो जनमानस देखेर उत्साहित भएका प्रधानमन्त्रीले आफ्नो सरकारले धेरै काम गर्न खोज्दा पार्टीभित्रैबाट र संसदबाट असहयोग भएकाले ताजा जनादेशमा जानुपरेको सन्देश दिन खोजेका छन् ।

ओलीलगायत सभामा बोल्ने सबै नेताले गुमेको भूभाग फिर्ता ल्याउन नक्शा प्रकाशन गरेकै दिनदेखि पार्टीभित्रबाट प्रधानमन्त्री हटाउन खोजिएको कुरा जनतालाई बुझाउन खोजेका थिए ।