प्रविधि मैत्री शिक्षा लिँदै गुरुकुलका छात्रहरु

304

चक्रपाणी डुम्रे, तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा –१ नयाँमिल देवीस्थानमा अवस्थित श्री दुर्गा वैदिक संस्कृत विद्यापीठ का छात्रहरु पूर्वीय संस्कृत वाङमयका विषयहरुको साथमा आधुनिक विषयहरु पनि अध्ययन गरिरहेका छन् । संस्कार , संस्कृति र संस्कृतको उत्थान गर्ने उद्देश्यका साथ स्थापित विद्यापीठमा आजको प्रविधिमैत्री युगलाई मध्यनजर गर्दै संस्कृत शिक्षालाई पनि प्रोजेक्टर र कम्प्युटर का माध्यमबाट अध्ययन गराउँदा विद्यार्थीहरुको क्षेमता वृद्धि भएको विद्यापीठका प्राचार्य श्यामप्रसाद अर्यालले जानकारी दिनु भयो ।

विद्यापीठमा संस्कृत शिक्षा अन्तर्गत शुक्लयजुर्वेद, व्याकरण, कर्मकाण्ड र संस्कृत भाषा तथा आधुनिक शिक्षा तर्फ अग्रेजी, गणित,नेपाली, सामाजिक विषयका साथै कम्प्युटर समेत अध्ययन भइरहेको छ । यसका अतिरिक्त ध्यान, सत्संग, दर्शन ,पुराण, कविता लेखन, निबन्ध लेखन, वतृक्तकलाको विकास, खेलकुद आदि क्रियाकलापहरु नियमित गर्न पाउदा आफूलाई निकै खुसी महशुस भएको कक्षा १० का छात्र विष्णु रेग्मीले बताए ।

वि.स.२०५३ सालमा स्थापित विद्यापीठ श्री दुर्गा वैदिक परमान्द सन्न्यास आश्रमद्वारा संचालित छ । आश्रममा शिक्षा , आवास र भोजनको निःशुल्क सुविधा रहेको आश्रमका पीठाधिश श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले जानकारी दिनु भयो । उहाँका अनुसार समय समयमा हुने महायज्ञमा संकलित रकम र विभिन्न दाताहरुको सहयोगमा स्थापित अध्यक्षकोष र मुष्टिदान बाट गुरुकुल संचालित रहेको छ ।

आश्रममा रुपन्देही , पाल्पा, स्याङ्जा, गुल्मी, अर्धाखाची, नवलपरासी, कपिलवस्तु , डोल्पा, दैलेख , झापा लगायत विभिन्न जिल्लाहरु बाट समेत गरी १०० जना विद्यार्थी वटुकहरुले अध्ययन गरिरहेको आश्रम व्यवस्थापन समितिका अध्यक्ष खिमानन्द गौतमले जानकारी दिनु भयो ।
कक्षा ६ देखि कक्षा १० सम्म संचालनमा रहेको विद्यापीठमा आगामी शैक्षिक सत्रबाट कक्षा ११ – १२ समेत संचालन गर्ने उद्देश्य रहेको आश्रमका सह–अध्यक्ष दुर्गा प्रसाद खरेलले जानकारि दिनु भयो ।

नेपाल सरकारद्वारा स्वीकृत वेदविद्याश्रमको पाठ्क्रमका आधारमा गुरुकुल परम्परा अनुसार यस विद्यापीठमा अध्ययन अध्यापन भइरहेको छ । यश विद्यापीबाट अध्ययन गरेका विद्यार्थीहरुले राष्ट्रिय अन्र्तराष्ट्रिय स्त्तरमा कथा परवचन गर्ने ,विभिन्न विश्व विद्यालयका अध्ययन अध्यापन गराउनुका साथै ज्योतिष , कर्मकाण्ड, पत्रकारिता लगायतका क्षेत्रमा रहि संस्कृत एवं धर्म संस्कृतिको जर्गेनाका लागिरहेको आश्रम व्यवस्थापन समितिले जनाएको छ ।