काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो ।
नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् ।
ओलीसँग पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् । तर संसदमा ओली पक्षको बहुमत पुग्दैन । यद्यपि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया सार्वजनिक गरेका छन् ।