काँग्रेसको पदाधिकारी बैठक आज, सत्ता साझेदारी प्रस्तावबारे पनि छलफल हुने

338
File photo

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ ।

बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरिने बताइएको छ ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने छन् ।

बैठकमा प्रतिनिधिसभा पुनःस्थापनापछि पार्टीको रणनीति, राजनीतिक घटनाक्रम, नेकपा प्रचण्ड–माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित प्रतिनिधिसभामा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । जसमा कांग्रेस निर्णायक छ ।

प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् ।

देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताउनु भएको थियो । त्यसैले काँग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लाग्नुभएको हो ।