काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ । नेकपाका दुवै समूहसँग सत्ता सहकार्यका सम्बन्धमा उसले पर्ख र हेरको रणनीति तय गरेको छ ।
बिहीबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकले वैधानिक रूपमा नेकपा एकै रहेकाले हालकै अवस्थामा हतारमा कुनै पनि समूहसँग सत्ता सहकार्यबारे निर्णय नगर्ने निष्कर्ष निकालेको हो ।
संसद् पुनस्र्थापना भएलगत्तै नेकपाका दाहाल—नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आफैं देउवा निवास पुगेर कांग्रेससँग सत्ता सहयात्रा गर्न आफूहरू तयार रहेको बताएका थिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति वैधानिक रूपमा एकै रहेकाले अहिले नै कसैको पक्षविपक्षमा उभिने भन्दा उनीहरू कसरी अघि बढ्छन् हेरेर त्यसपछि मात्रै निर्णय गर्ने बताए ।
‘अहिलेसम्म कम्युनिस्ट एकै छन्, अहिले नै कांग्रेसले कसैको पक्ष विपक्षमा केही निर्णय गर्दैन, उनीहरू कसरी प्रस्तुत हुन्छन् हेर्छौं र त्यसपछि मात्रै सोच्ने हो,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजधानीसँग भने ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसले अहिले नै सत्ता साझेदारीबारे नसोचेको र स्थितिको परिपक्वता हेरेर निर्णय लिने बैठकको निर्णय रहेको बताए ।
बैठकमा संसद् प्रतिनिधिसभा पुनस्र्थापनापछिका विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । सो क्रममा सभापति देउवाले नेकपाका दुवै समूहबाट आएका प्रस्तावबारे बैठकलाई जानकारी गराएका थिए ।
‘नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैन अहिले समदूरीमै रहनुपर्छ, बैठकको निचोड यही हो, विधिवत् ढंगबाट नेकपा निचोडमा पुगेपछि कांग्रेसले पनि निचोड दिने ठाउँ आउला,’ नेता अर्जुननरसिंह केसीले भने ।
संसद् पुनस्र्थापना भएलगत्तै कांग्रेससँग प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली समूहले पनि सत्ता सहकार्यको प्रस्ताव गर्दै आइरहेको बताइन्छ । सो विषयमा प्रधानमन्त्री ओलीले निकटका नेतालाई कांग्रेससँगको संवादका लागि खटाएका छन् भने उनी आफैंलेसमेत देउवासँग टेलिफोनमार्फत कुरा गरिसकेका छन् । आजको राजधानीले समाचार लेखेको छ ।