व्यवसायीले मोबाइल आपूर्ती गर्न पाउनुपर्ने माग

269

काठमाडौँ, १६ फागुन । न्यूरोड क्षेत्रका मोबाइल व्यवसायीले मोबाइल सहज रुपमा आपूर्ती गर्नै व्यवस्था मिलाउन माग गरेका छन् ।

काठमाडौँको मुटुमा अवस्थित ताम्राकार कम्पेक्सका व्यवसायीहरुले मोबाइल वितरक कम्पनीको सिन्डिकेटका कारण मोबाइल चाहेजती उपलब्ध हुन नसक्दा ग्राहकको इच्छा र चाहनाअनुसार विक्रिवितरण गर्न नसकेको भन्दै व्यवसायीलाई नै आयत गर्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।

लामो समयदेखि ताम्राकार कम्पेक्समा मोबाइल व्यवसाय सञ्चालन गर्दै आउनुभएका व्यवसायी विवेक शर्माले दुई÷चार कम्पनीको सिन्डिकेटका कारण मोबाइल चाहेजती उपलब्ध हुन नसकेको बताउनुभयो ।

सरकारले व्यवसायीलाई नै मोबाइल ल्याएर विक्रिवितरणको व्यवस्था गरिदिए बजार प्रतिस्पर्धात्मक बन्ने हुँदा ग्राहकले सस्तोमा मोबाइल पाउने उहाँको भनाई छ ।

छिमेकी मुलुक भारतभन्दा नेपालमा मोबाइलको रेट महङ्गो हुँदा अधिकांश वोर्डर तथा तराईबासी मोबाइल किन्न भारत जाने र भन्सार छलेर ल्याउने गर्दा नेपालमा मोबाइलको बजार कम हुँदै गएको शर्माले बताउनुभयो । सामानको अभावका कारण पनि भन्सार छल्ने क्रम बढ्दै गएको व्यवसायीहरु बताउँछन् ।

कतिपय मोबाइल कम्पनीले चीन र हङकङमा मोबाइलको नक्कली अफिस खडा गरेर अर्बोँको राजश्व छल्दै आएका छन् । सबै व्यवसायीलाई सरकारले सहज रुपमा मोबाइलको आपूर्ती व्यवस्था मिलाउने हो भने सरकारको राजश्वसमेत बढ्न जाने देखिन्छ ।