File photo

काठमाडौँ–नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय गर्ने दाबी गर्नुभएको छ।

सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको बताउनुभयो ।

तैपनि ओली समूहका नेताहरुले हामी झन् बलियो भयौं भन्न थालेको भन्दै उहाँले भन्नुभयो। ‘यो के अचम्म हो ? पाहा पछारिए झैं पछारिने, अनि जित्यौँ रे ।’

सर्वोच्चको फैसलाले एउटा सेटिङ भत्काएको भन्दै उहाँले छिट्टै अर्को सेटिङ भत्किने दाबी गर्नुभयो।

केही दिनमै निर्वाचन आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने भन्दै प्रचण्डले भन्नुभयो, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेर भन्दैछु । केही समयभित्र निर्वाचन आयोगले आधिकारिक बहुमतकै हुन्छ, सूर्य हाम्रै हुन्छ भनेर फौसला गर्छ । त्यसमा शंका गर्नु पर्दैन।’