पशुपतिमा फागुन २५ गतेदेखि विशेष पूजा

343

काठमाडौ, फागुन १९ । पशुपतिनाथ मन्दिरमा विशेष पूजा सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि गतवर्ष चैत पहिलो सातादेखि बन्द भएको विशेष पूजा फागुन २५ गतेदेखि पुनः खुल्ने भएको हो ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको समय पारेर विशेष पूजा खुलाउन लागेको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार फागुन २५ गतेदेखि एक हजार एक सयदेखि २७ हजार रुपैयाँसम्मका विभिन्न किसिमका विशेष पूजा गर्न पाइने छ ।

२७ गते पर्ने शिवरात्रिका दिन भने पाँच हजार एक सय र ११ हजारका दुई किसिमका मात्र विशेष पूजा हुने उनले जानकारी दिए । पाँच हजार एक सयको पूजामा दुई जना र ११ हजारको पूजामा चारजना सहभागी हुन पाइनेछ ।

फागुन २५ गतेदेखि पशुपतिनाथसँगै रहेको वासुकि मन्दिर पनि खुल्ने भएको छ । आव २०७५/७६ मा विशेष पूजाबाट ९ करोड ४० लाख ९३ हजार १ सय ४७ रुपैयाँ उठेको थियो भने आव २०७६/७७ मा ६ करोड एक लाख ८९ हजार चार सय ७५ रुपैयाँ उठेको थियो ।