काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण उनीहरू एकै लहरमा बस्नुपर्ने भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीको वैधानिकताको मुद्दा निर्वाचन आयोगबाट निर्णय नहुँदा ओली पक्ष र दाहाल–नेपाल पक्षका सांसदहरू एकै लहमा बस्नुपर्ने संसद् सचिवालयले जनाएको छ । ‘पार्टी विभाजन वा फरक दल भएको जानकारी संसद्मा नआएसम्म हामीले सत्ता पक्षका सांसदहरू सबैलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका छौं,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजधानीसँग भने, ‘संसद्मा एउटै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसदको रूपमा उहाँहरूलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका हौं ।’
राष्ट्रियसभाको बैठकमा पनि एकै लहरमा बस्ने व्यवस्था मिलाइएका कारण दुवै पक्षका सांसदहरूसँगै बसेका थिए । पार्टीको शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरूलाई छुट्टै बस्ने व्यवस्था गरिएको संसद् सचिवालयले जनाएको छ ।
संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपाभित्र सांसदहरूको तानातान तीव्र भएको छ । एक समूहले अर्को समूहलाई विभिन्न सुत्र प्रयोग गरि आफूमा तान्ने प्रयास गरिरहेको पाइएको छ
संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपाभित्र सांसदहरूको तानातान तीव्र भएको छ । अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा ओली समूह र दाहाल–नेपाल समूहबीच सदस्य संख्याका हिसाबले कडा टक्कर छ । दुवै समूहबीच सांसद संख्याको फरक साँघुरिदै जाँदा वामदेव गौतम निर्णायक हुने स्थिति देखिएको छ ।
गौतमले भने आफू एकताको पक्षधर भएको भन्दै कतै पनि नलागेको बताएका छन् । प्रतिनिधिसभामा नेकपाका १ सय ७४ जना सांसदमध्ये एक जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटा दलका सदस्य हुँदैनन् । त्यसैले, अहिले १ सय ७२ सांसद कायम छन् । त्यसमध्ये दाहाल–नेपाल पक्षले आफूसँग ९० भन्दा बढी सांसद भएको दाबी गरेको छ भने ओली समूहले ८८ सांसद आफूसँग रहेको दाबी गरेको छ ।
नेकपा संसदीय दलको विधानमा राष्ट्रिय सभाका सांसदहरूले समेत संसदीय दलको नेता चयनमा मतदान गर्न पाउँछन् । उपाध्यक्ष वामदेव ओली समूहमा लागे भने राष्ट्रिय सभामा ओलीकै बहुमत पुग्छ । राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन् । राष्ट्रिय सभा अध्यक्षले मतदान गर्न नपाउने भएकाले ४९ जना कायम हुन्छ । ४९ जनामध्ये दाहाल–नेपाल पक्षमा २४ सांसद छन् भने ओली समूहमा पनि २४ जना नै छन् । यस्तो अवस्थामा गौतम जता लाग्छन्, राष्ट्रिय सभामा उसकै बहुमत पुग्छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।