शिव : समावेशी देवता

335

मनोज भण्डारी

जोगी, वियोगी, भोगी, नशाका रोगी र योगी सबैमा शिवरात्रि ‘फेमस’ छ । उत्तिकै ‘फेभरेट’ शिवजी पनि छन् । कोही जानेर, कोही मानेर, कोही कर्तव्य ठानेर शिवको आराधना गर्छन् । फाल्गुण कृष्ण चतुर्दशीको रात शिवरात्रि हो । यसबारे जान्नु र यस दिनका आराध्य शिवलाई जान्नु पनि आवश्यक छ । कृष्ण जन्माष्टमी मोहरात्रिका नाउँमा प्रसिद्ध छ, नवदुर्गाको अष्टमीको रात कालरात्रिका रूपमा प्रसिद्ध छ भने फागुनको यो रात महारात्रिका रूपमा शास्त्रमा प्रसिद्ध छ । यी तीनवटै रात साधकका निम्ति विशेष मानिन्छन् । तीमध्ये शिवरात्रि विशेष छ ।

कवीरले आफ्नो भजनमा लेखेका छन्, एउटा राम दशरथका घरमा थिए, अर्का राम घटघटमा । त्यसैगरी एउटा शिव सर्वव्यापक छन्, अर्को शिव कैलाशमा बस्छन्, अर्को शिव घटघटमा बस्छन् । तर तीनवटैमा फरक छैन, थुप्रै भाँडामा देखिएको एउटै चन्द्रमा जस्तै । शिव शब्दको अर्थ कल्याण हो । त्यही कल्याण स्वरूप सत्य स्वरूप शिव पहिलो शिव हुन् । उनकै अर्को नाउँ परमात्मा हो । ज्ञानीका भाषामा ब्रह्म, भक्तको भाषामा भगवान्, योगीका भाषामा परमात्मा र संसार सिर्जना, पालन र विनाश गर्ने सामथ्र्य भएकाले दार्शनिकको भाषामा ईश्वर । सबै त्यही पहिलो शिवको नाउँ हो । दोस्रो शिव नेपालपुत्री पार्वतीका पति, नेपाल आमाका ज्वाईं, नेपालीका भिनाजु हुन् । जसलाई विशेषतः सृष्टिको संहार जिम्मेवारी दिइएको थियो, तिनै शिव रुद्र हुन् । अर्काे शिव सबै–सबैका भित्र भएको जिनिसको नाउँ हो, जो शरीर मर्दा पनि मर्दैन, जुनी फेरिँदा पनि फेरिँदैन । शिवरात्रि त्यो महान् रात्रि हो, जहाँ तेस्रो शिव दोस्रो शिवको सहायताले पहिलो शिव बन्छ ।

शिवलिङ्ग : ज्योतिर्लिङ्ग
चितवनकी एकजना चर्चित कविले लेखिन्, शिवलिङ्ग पूजा पितृसत्तात्मक सोचको उपज हो । लिङ्गकै पूजा किन ?
मलाई यो प्रश्नले झन्झनायो । झन्झनायो यस मानेमा कि नेपालमा बौद्धिक भनिएको वर्गले पनि लिङ्ग शब्दको अर्थ पुरुषको जननेन्द्रिय मात्रै बुझेको रहेछ । लिङ्ग शब्दको अर्थ पुरुष जननेन्द्रियमात्रै हुने भए स्त्रीलिङ्ग भन्ने शब्द कहाँबाट बन्थ्यो ?
शिवलिङ्गमा लिङ्ग शब्दको अर्थ हो (चिह्न÷प्रतीक । शिवको लिङ्ग अर्थात् प्रतीक नै शिवलिङ्ग हो । शिवका सबै प्रतिमा शिवलिङ्ग हुन् । सबैका भित्र ज्योति स्वरूपले रहने शिवको प्रतीक शिवलिङ्ग हो । त्यही ज्योतिको प्रतीकलाई ज्योतिर्लिङ्ग पनि भनिन्छ । बल्दो दियोको दीपशिखाको जस्तो आकार हुन्छ, त्यस्तै आकार शिवलिङ्गको हुन्छ । भगवान् शिव आफैँले प्रकट गरेका ती शिवलिङ्गहरू १२ वटा छन्, जसलाई द्वादश ज्योतिर्लिङ्ग भनिन्छ । वनारसमा विश्वनाथका नामले, गुजरातमा सोमनाथका नामले, हिमालयमा केदारनाथका नामले एवम् अन्यान्य ठाउँमा तत्तत् नामले प्रख्यात १२ शिवलिङ्ग शिवले नै उत्पन्न गराएको कुरा शिवपुराणमा उल्लेख छ । र, ती १२ वटै ज्योतिर्लिङ्गको शिर पशुपतिनाथ नामले नेपालमा हामीले चिन्दछौँ ।
भारतको उत्तराखण्डमा केदारनाथको दर्शन गर्नेक्रममा त्यहीँका पुजारीले बताए कि केदारनाथको पछिल्लो भागमात्रै यो हो । यसको शिर नेपाल काठमाडौँमा छ । काठमाडौँस्थित डोलेश्वर मन्दिरबारेमा मलाई नेपालै नदेखेका भारतीय पण्डितले थाहा दिए । ती १२ ज्योतिर्लिङ्ग भारतमै पर्छन् भन्ने भारत र नेपाल सबैका जनमानसमा छ । विद्वान्हरूको खोजले बताएअनुसार तीमध्ये एक वैद्यनाथको ज्योतिर्लिङ्ग अछाममा छ । आदि शङ्कराचार्यले वैद्यनाथको प्रार्थना गर्नेक्रममा ‘पूर्वोत्तरे प्रज्वलिकानिधाने’ शब्द प्रयोग गरेका छन् । यसको आसय वैद्यनाथको पूर्वोत्तर दिशामा ज्वालाको निधान छ । लेखक आफैँ पूर्वोत्तर दिशास्थित दैलेखको ज्वाला क्षेत्र र वैद्यनाथ मन्दिर पुगेका छन् । भारतको विहारमा ज्योतिर्लिङ्ग भनिने वैद्यनाथ मन्दिरमा पशुपति मन्दिरमा भन्दा बढी घुइँचो लाग्छ । अछामको वैद्यनाथमा मैले अनुभव गरेका १५ दिनमा १५ जना भक्त पनि उपस्थित भएनन् ।
आफ्नो हातमा रहेको मणिको महŒव के हो जनताले जान्नु जरुरी छ । चन्द्रज्ञान आगममा लिङ्ग शब्दको सुन्दर वर्णन गरेको पाइन्छ । जसको उदरमा सृष्टिपूर्व सारा संसार लीन हुन्छ र संहारमा सारा संसार जसको उदरको गमन गर्छ, त्यो परमात्मा नै लिङ्ग शब्दको अर्थ हो । स्कन्द पुराणमा बताइएअनुसार आकाश स्वयम् लिङ्ग हो । धरती उसको पीठिका हो । यी सबै अनन्त शून्यबाट पैदा भएर उसैमा लीन भएका हुनाले यसलाई लिङ्ग भनिन्छ ।
न्याय वैशेषिक दर्शनका विद्वान् विश्वनाथ भट्टाचार्यले आफ्नो मुक्तावली ग्रन्थमा हावाको लिङ्ग छोइनु हो भनेर बताएका छन् । हावा देखिँदैन, बरु स्पर्शले अनुभूत गर्न सकिन्छ भन्ने अर्थमा यो प्रयोग छ । यहाँ पनि लिङ्ग शब्दले जननेन्द्रियलाई बुझाएको छैन ।
तर्कसङ्ग्रहका टीकाकारले ‘लीन (गुप्त) अर्थ गमन गराउने (बुझाउने) भएकाले लिङ्ग भनिएको भन्ने बताएका छन् । भगवान् शिवबारेमा र सृष्टिबारेमा जो गोप्य रहस्य छन्, त्यो बुझाउने हुनाले शिवलिङ्गमा लिङ्ग शब्द प्रयोग भएको हो । यतिविधि स्पष्ट हुँदाहुँदै पनि लिङ्ग माने जननेन्द्रिय नै बुझ्नुचाहिँ सत्यको अस्वीकारमात्र हो ।

आदियोगी शिव
योगेश्वर कृष्ण हुन् र योगीश्वर शिव हुन् । संसारका प्रथम योगी शिव हुन् । उनको योगको सर्वोच्च स्थिति समग्र मानवका लागि अनुकरणीय छ । उदाहरणका लागि हेरौँ– शिवजीको वाहन साँढे हो भने पार्वतीको वाहन सिंह हो । शिवको गलामा, हातमा सर्प रहन्छन् भने गणेशको वाहन मुसा हो । अझ कुमारको वाहन मुजुर हो । मुसालाई सर्पले खान्छ । सर्पलाई मुजुरले खान्छ । मुजुरलाई सिंहले खान्छ । साँढेलाई पनि सिंहले बाँकी राख्दैन । तर, यस्ता जन्मजात शत्रु एउटा घरमा मिलेर बसेका छन् । यस्तो हुनुको पछाडिका कारण हामी महर्षि पतञ्जलिको योगसूत्रमा पाउँछौँ । योगसूत्रमा एउटा सूत्र छ– ‘अहिंसा प्रतिष्ठायां तत्सन्निधौ वैरत्यागः’ । योगीले अवश्य पालन गर्नुपर्ने ‘यम’को पहिलो सर्त अहिंसा हो । अहिंसाको सिँढीबाट माथि उक्लेको महान् योगीका सामुन्नेमा कुनै पनि प्राणीले वैरभाव राख्दैनन्, जन्मजात भए पनि त्याग्छन् भन्नु सूत्रको आशय हो । योगशास्त्रका प्रथम उपदेशकर्ता शिव हुन् । ‘विज्ञान–भैरव–तन्त्र’मा शिवले पार्वतीलाई बताएका ११२ ध्यानसूत्र छन् । शैव र नाथ सम्प्रदायका आदिदेव र आदिनाथ पनि शिव नै हुन् । शिवकै अवतार मानिने शङ्कराचार्यले ज्ञानयोग र उनकै अवतार मानिने गोरक्षनाथले हठयोगको सन्देश विश्वलाई दिए ।

शिवजी, गाँजा, भाङ, धतुरो
देवता र राक्षसले मिलेर समुद्र मथे । अमृत निकाल्न समुद्र मथ्दा हलाहल विष निस्क्यो । सारा देवता एवम् राक्षस डरले थरथर भए । तीनै लोक नष्ट हुने डरले विषलाई कतै फाल्न पनि सकिएन । सबैले दयालु आशुतोषलाई सम्झे । शिवले त्यो विषलाई पिउनुभयो । घाँटीमा राख्नुभयो । त्यो विषले कपुरजस्ता गोरा शिवको घाँटी नीलै भयो । नामै नीलकण्ठ भयो । प्राणीमा करुणादृष्टि राखेर शिवले विष पिएको कुरा सर्वविदित छ ।
एकजना मित्रले भन्नुभयो, ‘शिवले गाँजा पिउन हुने । हामी पनि पिउँछौँ, के हुन्छ ?’
मैले भनेँ, ‘गाँजा पिएर गँजडी भइन्छ, शिव बन्न त अर्काका निम्ति विष पिउन सक्नुपर्छ ।’
शिव विषचिकित्साका आचार्य पनि हुन् । सर्प, बिच्छीजस्ता विषालु जन्तु उनका वरपर रहन्छन् । धतुरो आदि अन्य विषालु वस्तु उनकै आसपासमा रहन्छन् । ती सबै विषचिकित्साका साधन हुन सक्छन् । शिवजीले गाँजा, धतुरो खानेचाहिँ होइन ।
शिवबारेमा बताउने शास्त्र शिवपुराण हो । शिवपुराणका चौबीस हजार श्लोकमध्ये कहीँ कतै पनि गाँजा, भाङ, धतुरो खाएको उल्लेख छैन । गाँजा, भाङ, धतुरो शिवजीले खाएको कुरा कुनै पनि शास्त्रमा छैन । खरानी घस्ने जोगीले गाँजा खाए भन्दैमा खरानी घस्ने शिवजीले पनि खान्छन् भनेर दुष्प्रचार गर्नु कहाँसम्मको बुद्धिमानी हो ? गाँजा यद्यपि अनेकौँ रोगको उपचारमा काम आउँछ भन्ने अनुसन्धान विश्वस्तरमा भइरहेका छन् । त्यसको आफ्नै पाटो छ तर शिवजीलाई गाँजासँग जोडेर मजाक बनाइनु उचित होइन ।
प्रश्न उठ्न सक्छ । यतिविधि पात हल्लिनुमा हावा पनि लागेको हुनुपर्छ । शिवजीलाई गाँजा, भाङ, धतुरोसँग कसले जोड्यो त ?
यो काम गँजडीले गरे, स्वस्थानी व्रतकथालाई माध्यम बनाएर । स्वस्थानीमा शिवजीले गाँजा, भाङ, धतुरो खान्छन् भनेर बताइएको छ । स्कन्दपुराण केदारखण्ड माघमाहात्म्यमा हुँदै नभएको गाँजा, भाङ, धतुरो त्यसको अनुवादमा कसरी आयो ? यो गल्ती कसले ग¥यो ? अनुसन्धान आवश्यक छ ।

शिव रहस्य
स्मसानको खरानी शिवको आभूषण हो । शिवको माला भन्नु नाग हुन् । शिवको शिरमा गङ्गा छ । शिवको हातमा त्रिशूल छ । शिवजीका आँखा तीनवटा छन् । चार दिशा नै शिवका कपडा हुन् । शिवको वाहन साँढे हो । शिवका सबै स्वरूप चालचलन अनौठा देखिन्छन् । जति अनौठा छन्, उति नै रहस्यमय छन् ।
शिवको शरीरमा घसिएको खरानी वैराग्यको प्रतीक हो । स्मसानकै खरानी यस अर्थमा कि वैराग्यको उद्बोधक मृत्यु हो । हामी पनि कुनै दिन मर्नुपर्छ भन्ने भाव नआई वैराग्य मनमा जाग्दैन । मृत्युको डरले जन्माएको वैराग्यबाटै मृत्युुलाई जित्नु वेदान्तको सार पनि हो । शिवको माला नाग हुन् । सर्पहरू ब्रह्माण्डका विषालु वायु आफू पिउँछन् र संसारलाई जीवित रहन दिन्छन् । शिवजीको स्वभाव त्यस्तै छ र साधकले पनि त्यस्तै बन्नुपर्छ ।
शिवको शिरमा चन्द्रमाको वास छ । चन्द्रमा मन हो । चन्द्रमालाई आयुर्वेदले समेत अमृतयुक्त भन्छ । शिरको माथि रहेको चन्द्रमा निर्मल र शान्त मनले अमृतŒवको प्राप्तिको सङ्केत गर्छ । गङ्गा ज्ञान हो । शिवको मूर्धाबाट निस्केको गङ्गाजलले संसार तृप्त गर्छ । योगीले ब्रह्मरन्तबाट तप्केको अमृत पिउँछन् । ज्ञानीले मस्तिष्कको ज्ञानगङ्गाबाट संसार सिँच्छन् । तीनवटा शूल त्रिशूल हो । ती शूल आत्मिक, भौतिक र दैविक शूल हुन् । ती सबै शिवको हातमा पुगेर नियन्त्रणमा आउँछन् ।
तेस्रो आँखा दुई चर्मचक्षुभन्दा अलग ज्ञानचक्षुको उद्घाटनको सङ्केत गर्छ । ज्ञानी आँखा चिम्लेर पनि सारा देख्छ, त्यसमा तेस्रो आँखा कारण हुन्छ । दिशा नै कपडा हुनु अपरिग्रहको सङ्केत हो । चराहरू गोदाम नबनाई पनि बाँच्छन् । कात्रो र भोटो दुवैको खल्ती हुँदैन । परिग्रहले सुख होइन, दुःख ल्याउँछ, अतः त्यागयोग्य छ । साँढेलाई संस्कृतमा वृषभ भनिन्छ । वृषभ शब्दको अर्थ धर्म हो । शिवझैँ धर्म र न्यायको आश्रयमा रहनु यसको सङ्केत हो ।

शिव : समावेशी देवता
शिवबाट वर मागेर शिव नै भष्म बनाउन तम्सने भष्मासुर होस् अथवा त्रिलोक विजयी रावण होस्, सबै शिवका कृपापात्र छन् । शिवको कृपा रामेश्वर शिवलिङ्ग पुज्ने राम र ताण्डवस्तोत्र रच्ने शिवभक्त रावण दुवैमा बराबर छ । अन्य देवताको तपस्या, यज्ञ, पूजनमा देवता, ऋषि आदि देखिन्छन् तर शिव सबैका आश्रयदाता हुन् । भूतप्रेत आदिदेखि लिएर महर्षि शिवकै शरणमा छन् । शिवको पूजालाई धनको आवश्यकता पनि छैन । माटोको लिङ्ग र मूर्तिमा बेलका घाँसपातले पूजा गरेर पानी खन्याइदिए प्रसन्न हुने शिव आशुतोष हुन् । शिवको दयालु स्वभावले नै पशुपति नाम रहन गएको हो ।
शैव दर्शनले पशुपति शब्दको स्पष्ट व्याख्या गर्छ । काम, क्रोध आदि मानवका पाश हुन्छन् । पाशले बाँधिएका जति सबै पशु हुन् । ती सबैलाई पालन गर्ने पति पशुपति हुन् । त्यसैले हिन्दु भनिने नभनिने सबैखाले शिवको पूजा गर्छन् । किरात रूप धारण गर्ने किरातेश्वर महादेवको पूजा मुन्दुम पढ्नेले गर्छन् । सुम्निमा पारुहाङका कथा त हामीले सुन्दै आएका छौँ । लामाहरू महादेवलाई ल्हा छेन्पो भनेर समान आस्था राख्छन् । वेद मान्नेहरू बमबम बोलको जयकार साउनमा लगाउँछन् । पोर्तुगाली देवताको हातमा रहने अस्त्र त्रिशूलसँग एकदम मिल्दोजुल्दो देखिन्छ । शिवकै योग सारा संसारले स्वीकार गरिरहेको छ । आचार्य पुष्पदन्त त शिवःमहिम्नः स्तोत्रमा भन्छन्, ‘जानी नजानी सबैले शिवकै पूजा गरिरहेका हुन्छन् । नाना नाम भएका नाना देउता पुज्नेहरू पनि नदीहरू समुद्रमा जसरी शिवमै पुग्छन् ।’

शिव–पार्वती र नेपाल
पुराणअनुसार दक्ष प्रजापतिकी पुत्री सती थिइन् । माइतमा बुवाले यज्ञ आयोजना गरेको हुँदा नबोलाई पनि गइन् । तर, त्यहाँ पुग्दा आफ्ना पति महादेवको भाग पनि नराखिएको र शिवको निन्दा एवम् अपमान भएको देखेपछि असह्य भएर यज्ञमण्डपमा उपस्थित देवताकै अगाडि योगबलले आफूभित्रको अग्नि उत्पन्न गरेर देह त्याग गरिन् । अपमान मृत्यु हो । पतिको ज्युँदै मृत्यु भएको देखेर सती आफू पनि अग्निमा जलिन् । सती अर्को जन्ममा मेनकाको गर्भबाट पार्वती बनेर जन्मिइन् । तपस्या गरेर शिवजीसँग पुनः विवाह भयो । कथानक यत्ति हो ।
यसैबीचबाट कालान्तरमा पतिको मृत्युुपछि सती जाने प्रथा सुरु गर्ने काम भयो । शास्त्रहरू भने सतीप्रथाको समर्थन गर्दैनन् । सतीको चरित्र आफैँ पनि हामीले सुनेको सतीप्रथाको समर्थन गर्दैन । पार्वती पर्वतकी पुत्री थिइन् । योगी नरहरिनाथका अनुसार पर्वत जिल्लाको पाङमा माता पार्वतीको प्राकट्य भएको हो । सीता जसरी नेपालकी छोरी हुन्, जगन्माता पार्वती पनि नेपाली माटोकी पुत्री हुन् । घरबाट भागेर पार्वतीले तपस्या गरेको दिन हरितालिका हो । तपस्याबाट प्रसन्न भई वरदान दिन शिव आएको ठाउँ अहिले गौरीशङ्कर हिमालयका नाउँमा प्रसिद्ध छ ।
शिव–पार्वतीले मृग रूप धारण गरेर लीला गरेको ठाउँ मृगस्थली काठमाडौँ हो । मृत्युको डरले तपस्यामा लागेका मार्कण्डेयलाई चिरञ्जीवी बन्ने आशिष दिएर कालको पनि काल महाकाल भन्ने विशेषण शिवलाई नेपालले नै दिएको हो । कुनै समय राष्ट्रदेव पशुपतिनाथको पुनरुद्धार भगवान् शिवकै अवतार मानिने शङ्कराचार्यबाट भयो । शिवावतार गोरक्षनाथकै विर्ता गोरक्षा÷गोरखा÷गोर्खा नाउँ हो । महान् शिवभक्त नेमुनिले पालन गरेको नेपाल शिवकै छत्रछाँयामा हुर्के÷बढेको छ । माधव घिमिरेले लेखेकै छन् नि,
यो पार्वतीको प्रिय फूलबारी ।
एकान्त यो चिन्तनको छहारी ।।
कैलाशवासी शिवको ससुराली, सर्वव्यापक शिवको सर्वप्रिय क्रीडाभूमि नेपालले शिवसँग जोडिएको लामो कपाल र गाँजामात्रै सम्झेर शिवलाई बिस्र्यो कि ?

आजको गोरखापत्रमा प्रकाशित लेख हो ।
लेखक , नेपाली संस्कृत छात्र समिती वाराणासीका अध्यक्ष हुन् ।