नयाँ गठबन्धनबारे देउवा–प्रचण्ड छलफल : नेतृत्व गर्न देउवालाई प्रचण्डको प्रस्ताव, जसपासँग संवाद गर्ने

102

काठमाडौं । एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्नुअघि प्रमुख प्रतिपक्ष कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेलगत्तै प्रचण्ड भेटका लागि बुढानीलकण्ठस्थित देउवानिवास पुगेका थिए । देउवा र प्रचण्डबीच अपराह्न ४ बजेपछि करिब आधा घन्टा ‘वान टु वान’ छलफल भएको थियो ।

छलफलपछि प्रधानमन्त्री ओलीको बहिर्गमन गर्दै संविधान कार्यान्वयनका बाँकी कार्य गर्ने सम्बन्धमा गठबन्धनको सरकार बनाउन देउवा र प्रचण्ड सहमत भएका छन् । भेटमा जसपासहित गठबन्धन गर्दा संसद्मा हुने अंकगणितका विषयमा समेत छलफल भएको छ । ‘जसपाभित्र विभाजनको कुरा आएको छ, त्यसले संसद्मा पार्ने प्रभाव र सहकार्यका विषयमा थप छलफल गर्ने गरेर अघि बढ्ने कुराकानी भएको छ,’ देउवानिकट एक नेताले भने ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवा र प्रचण्डबीच अहिलेको तरल राजनीतिक अवस्थाका विषयमा छलफल भएको जानकारी दिए । ‘यो स्वाभाविक भेटघाट हो, दुई पार्टीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल हुनु स्वाभाविक हो, तर भेटमा कुनै प्रस्ताव वा समझदारी भएको छैन,’ प्रवक्ता शर्माले नयाँ पत्रिकासँग भने ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रचण्ड र देउवाबीच सकारात्मक संवाद भएको र निष्कर्षमा पुग्न अझै बाँकी रहेको बताए । ‘कांग्रेस सभापति शेरबहादुर देउवासँग सकारात्मक कुराकानी भएको छ । संविधान र लोकतन्त्रको रक्षाका लागि सहकार्य गर्ने सहमति बनेको छ । आजै जसपाका संघीय परिषद् अध्यक्ष अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रचण्डले छलफल गर्नुभएको छ । भोलि ९बुधबार० जसपाकै अध्यक्ष महन्थ ठाकुरसँग पनि भेट्ने कार्यतालिका छ,’ शर्माले भने, ‘जसपासँग बुधबार भेट भएपछि कांग्रेससँग थप सहकार्यबारे एउटा निर्णय हुन्छ ।’

जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले प्रचण्डसँग नयाँ समीकरणबारे छलफल भएको, तर कुनै सहमति नभएको बताए । ‘शेरबहादुरजीलाई भेटेर प्रचण्ड मकहाँ आउनुभएको रहेछ । उहाँसँगको भेटमा मुख्यतः अब केपी ओली नै यो प्रतिगमनका मुख्य बाधक हुन् । उनलाई बिदा गर्न कांग्रेस, माओवादी र जसपा गठबन्धन गरेर जानुपर्छ भन्नेबारे सामान्य कुराकानी भयो । खासमा उहाँ मेरो स्वास्थ्यबारे बुझ्न आउनुभएको हो,’ डा।भट्टराईले भने ।

डा। ट्टराईले कांग्रेस, माओवादी केन्द्र र जसपाबीच समीकरणको सम्भावना रहेको दाबी गरे । उनले थपे, ‘यद्यपि नेकपाको एकता भंग भइसकेपछि प्रधानमन्त्रीको पार्टी अल्पमतमा परिसकेको छ । अब वैधानिक हिसाबले पनि नयाँ सरकार स्वाभाविक बन्छ । ओली रहेसम्म राज्यसत्ताको दुरुपयोग गरेर वितण्डा मच्चाइरहने खतरा रहन्छ, त्यसैले उनलाई बिदा गर्नेमा छिटोभन्दा छिटो एउटा समझदारी गरेर जानुपर्छ । तर, अहिले नै समझदारी बनिसकेको छैन । तर, बन्ने सम्भावनाचाहिँ छ ।’

स्रोतका अनुसार सर्वोच्च अदालतले नेकपाको एकता भंग हुने गरी फैसला गरेलगत्तै देउवाले नयाँ गठबन्धनका लागि दोस्रो तहका नेता परिचालन गरेका थिए । संसद्मा दोस्रो, तेस्रो र चौथो शक्तिका रूपमा रहेका दलहरूबीच गठबन्धन गरेर सरकार बनाउने विषयमा माओवादी केन्द्रले चासो देखाएपछि देउवा उत्साहित छन् ।

जसपासमेत कांग्रेस–माओवादीसँग नयाँ गठबन्धनका लागि सकारात्मक रहेको देउवानिकट स्रोतको दाबी छ । ‘ओलीको बहिर्गमनका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुवैसँग अनौपचारिक छलफल भइरहेको छ, छलफल सकारात्मक रूपमा अघि बढेको छ,’ देउवानिकट एक नेताले भने । ती नेताको दाबीअनुसार कांग्रेस र माओवादी केन्द्रसँग सहकार्यका लागि जसपाका शीर्ष नेताहरूसँग अन्तिम संवाद मात्रै बाँकी छ ।

कांग्रेस सभापति देउवा र जसपाका नेताद्वय भट्टराई र यादवसँग भेट गर्नुपूर्व प्रचण्डले पार्टी स्थायी कमिटीमा सम्भावित समीकरणबारे सबै पक्षसँग संवाद गर्ने निर्णय गराएका थिए । ‘संसद्, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयन प्रक्रिया बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्ष कांग्रेस, जनता समाजवादी पार्टीसँग वार्ता गर्ने बैठकले निर्णय गरेको छ,’ नेता नारायणकाजी श्रेष्ठले बैठकपछि भनेका थिए, ‘आवश्यकताअनुसार एमालेसँग पनि वार्ता गर्छौँ, तर हाम्रो मुख्य जोड कांग्रेससँगै हुनेछ ।’ नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।