महाशिवरात्री पर्वको महत्व र उपादेयता !

256

 डा.गोविन्द टण्डन

 फाल्गुन कृष्णपक्षको चतुर्दशीलाई हिन्दूधर्मावलम्बीहरू महाशिवरात्रिको रूपमा भगवान् शिव,शङ्कर, पशुपतिनाथको पूजा-आराधना गरेर धुमधामले मनाउँछन्। हरेक महिनाको चतुर्दशी भगवान् शिवको पूजा गर्ने महान् दिन भएता पनि महाशिवरात्रि महानतम् दिन हो।हिन्दूधर्मका तीन सर्वोच्च शक्तिहरू- ब्रह्मा,विष्णु महेश्वरमा भगवान् शिवलाई प्रलय अर्थात् संहारका अधिष्ठाता मानिन्छ। वेददेखि लिएर पछिल्ला कालका अनेक भाषाका ग्रन्थहरूमा भगवान् शिवको महत्त्वगान गरिएको पाइन्छ।यदि ती सबैलाई सङ्ग्रह गर्ने हो भने विशद् ग्रन्थ हजारौँ तयार हुन सक्छ।

अधिकांश हिन्दू देवी-देवताहरूको पूजा दिनमा गरिन्छ तर भगवान् शिवको किन रात्रिमा गरिन्छ भन्ने जिज्ञासा जो कसैको मनमा परेको हुन सक्छ। यो सर्वविदितै छ कि भगवान् शङ्कर संहारशक्ति अर्थात् तमोगुणका अधिष्ठाता हुनुहुन्छ।अत: तमोमय रात्रिसँग उहाँको सम्बन्ध हुनु स्वाभाविक नै हो। रात्रि संहारकालको प्रतिनिधित्व गर्छ, त्यसको आगमन हुनासाथ नै सर्वप्रथम प्रकाशको संहार हुन्छ, सम्पूर्ण जीवको दैनिक कर्मचेष्टाको संहार, इन्द्रियहरूको सामर्थ्यको संहार र अन्तमा निद्राद्वारा चेतनताको संहार भएर सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर  लुटुपुटिन्छ।

क्षयपूर्ण तिथि अर्थात् औँसीको दुष्प्रभावबाट बँच्न ठीक एक दिन अगाडि नै चतुर्दशीमा भगवान् शिवको आराधना गर्ने चलन छ।त्यसैगरी वर्षको अन्तिम महिनाभन्दा एक महिना पूर्वको महिनाको पनि उपान्त्य रात्रिमा महाशिवरात्रि मनाइनुको रहस्य नकारात्मकता एवं व्याधिबाट बच्न गरिने प्रयत्न हो भने फरक पर्दैन। महाशिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वको रूपमा लिइएको पाइन्छ।

यस अवस्थामा प्राकृतिक दृष्टिले शिवलाई रात्रि प्रिय हुनु सहज नै हृदयङ्गम हुन्छ।यही कारण हो कि भगवान शिवको आराधना रात्रिमा मात्र नभई सदैव प्रदोषको (रात्रि प्रारम्भ भएपछि) समयमा  गरिन्छ।अर्को कुरा तामसी वृत्तिको उदय रात्रिमा ज्यादात्तर हुन्छ। यसैले त्यसको उपशमनार्थ यी प्रवृत्तिका अधिष्ठाता भगवान् आशुतोषको आराधना गर्ने विधान शास्त्रकारहरूले गरेका छन्। यही नै कृष्णचतुर्दशीको रात्रिमा शिवको आराधना गर्नुको रहस्य हो।

क्षयपूर्ण तिथि अर्थात् औँसीको दुष्प्रभावबाट बँच्न ठीक एक दिन अगाडि नै चतुर्दशीमा भगवान् शिवको आराधना गर्ने चलन छ।त्यसैगरी वर्षको अन्तिम महिनाभन्दा एक महिना पूर्वको महिनाको पनि उपान्त्य रात्रिमा महाशिवरात्रि मनाइनुको रहस्य नकारात्मकता एवं व्याधिबाट बच्न गरिने प्रयत्न हो भने फरक पर्दैन। प्रकृतिमा पनि यो महिनामा वन-उपवनहरूमा जताततै पातहरू झरेर मानौँ भगवान् शिवको रौद्र रूपको झलक देख्न पाइन्छ।रुद्रको एघार सङ्ख्या हुनु र फाल्गुन महिना चान्द्रमान अनुसार एघारौँ महिना पर्नुको रहस्य पनि प्रकट हुन्छ।

संहारको अदिष्ठाता भएता पनि उहाँलाई शिव अर्थात् कल्याणकारक मानिन्छ। यो स्पष्ट छ कि लयमा नै उत्पत्ति गाँसिएको हुन्छ।कुनै वस्तुको विनास नभईकन नयाँ वस्तुको प्राकट्य हुँदैन। उत्पत्तिको लागि विनाश अनिवार्य छ। यसैले भगवान् शिवलाई संहारका अधिष्ठाता माने पनि उहाँ प्रकारान्तरले कल्याणका अधिष्ठाता पनि हुनुहुन्छ।

महाशिवरात्रिको दिन जहाँ-जहाँ हिन्दूहरू छन् त्यहाँ-त्यहाँ भगवान् शिव अर्थात् पशुपतिनाथको आ-आफ्नै किसिमले भव्य पूजा-आराधना गरिन्छ।कहीँ मूर्ति, मन्दिर भेट्टाइएन भने बालुवाको शिवलिङ्ग बनाएर भए पनि पूजा-आराधना गर्छन्। बालुवा पनि भेट्टाइएन भने मानस पूजा गरेर भए पनि भगवान् शिवप्रति आ-आफ्नो भक्तिभाव दर्शाउने प्रचलन छ।

भगवान् श्रीपशुपतिनाथको मन्दिरमा षोडशोपचारसहित भव्यरूपले पूजाअर्चना हुन्छ।महाशिवरात्रिभन्दा झण्डै आठ-दश दिनअघिदेखि नै साधु-सन्त, महात्माहरूको आगमन पशुपतिक्षेत्रमा भइसकेको हुन्छ। यस दिन पशुपतिनाथको चार प्रहरको पूजा हुन्छ। रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्यूद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ।यस दिन पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरैदेखि भीड लाग्दछ।

वैरागी, उदासी, सन्न्यासी, नागा आदि विभिन्न सम्प्रदायका साधु-सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढा-टाढाबाट आइपुग्छन्।फागुनकृष्ण एकादशीदेखि फागुनकृष्ण अमावस्यासम्म भगवान् श्रीपशुपतिनाथमन्दिर प्राङ्गणमा अतिथि नागाबाबाहरू आसन जमाएर बस्छन्। उनीहरूको खानापिना र सुविधा नेपालको तर्फबाट गुठी संस्थान र पशुपतिक्षेत्र विकास कोषले गर्नु पर्ने दायित्व रहेको छ।

भारतमा चारधाम,तीनधामको यात्रा गरेपछि भगवान् श्रीपशुपतिनाथको दर्शन-पूजनपश्चातमात्र तीर्थयात्राको पूर्णाहुति गर्ने प्रचलन भएको कारण पनि महाशिवरात्रिको दिन भारतीय तीर्थयात्रीहरूको भीडभाड अरू बेलाको भन्दा धेरै देखिन्छ।साथै भारतको प्रसिध्द मन्दिर श्रीकेदारनाथको अक्षयतृतीयाको दिन पट्ट खोल्दा सोही दिन अलग्गै तामाको घडामा जल राखिन्छ र नौ महिनासम्म विशेष रूपले पूजा-अर्चना  गरेर राखिएको जललाई बूढा केदारका पूजारीले पशुपतिनाथको मन्दिरमा ल्याउने र महाशिवरात्रिको दिन भगवान् श्रीपशुपतिनाथको मन्दिरमा बेलुका चार प्रहर पूजाको अवसरमा सो जलले स्नानादि गरी अर्पण गर्ने अद्यापि प्रचलन छ।

महाशिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वको रूपमा लिइएको पाइन्छ। शिवपुराणमा भगवान् विष्णुले एक पटक भगवान् शिवलाई कुन व्रतबाट उहाँ भक्तजनहरूलाई भोग र मोक्ष एकसाथ प्रदान गर्नु हुन्छ भनी सोध्दा भगवान् शिवले दश वटा व्रतहरूको नाम लिनुभएकोमा महाशिवरात्रिलाई अत्यधिक महत्त्व दिँदै भोग र मोक्ष चाहानेले शिवरात्रिको व्रत बस्नु योग्य छ भनी बताएको प्रसङ्गको चर्चा पाइन्छ। त्यहाँ गुरुद्रुह नाम गरेको एक जना ब्याधाले अञ्जानमै भगवान् शिवको पूजा-अर्चना गर्दा उसको जीवनमा आएको परिवर्तनको कुरालाई पनि उल्लेख गरिएको पाइन्छ। अञ्जानमा पूजा गर्दा त दिव्य ज्ञान पाउन सकिन्छ भने जानेर, बुझेर उहाँको पूजा-अर्चना गरियो भने के पाइदैन ? भन्ने कुराको सङ्केत त्यहाँ दिन खोजिएको पाइन्छ।

पुराणहरूमा भगवान् शङ्करमा अनेक किसिमका विरोधी भावहरूको अनुपम सामञ्जस्य स्थापना गर्ने अधिष्ठाताको रूपमा चित्रित गरिएको छ। यस्तो अद्‌भुत समन्वय जसको जीवनमा पाइन सक्छ उही नै निन्दा-स्तुतिमय हलाहललाई पचाएर अमरत्वलाई प्राप्त गर्न सक्छ। शिव नारीश्वर हुनुहुन्छ परन्तु उहाँजस्तो कामविजेता आजसम्म कोही प्रकट भएको देखिन्न।उहाँ गृहस्थ भएर पनि गृह-स्थ होइन, श्रीकण्ठ भएर पनि “श्री” बाट धेरै टाढा, ऋध्दि-सिध्दिका स्वामी भएर पनि त्यसबाट पराङमुख, उग्र भएर पनि सौम्य, अकिंचन भएर पनि सर्वेश्वर, भयङ्कर विषधर र सौम्य सुधाकर दुबैले उहाँको शरीरमा शोभा बढाएका छन्।

निधारमा प्रलयकालिक बह्नी(अग्नि) र शिरमा हिम-शितल जाह्नवीधारा उहाँको अनुपम श्रृङ्गार हो। उहाँको निवासमा नन्दी, वृषभ र दुर्गाको वाहन सिंह सँग-सँगै बसेर मेलमिलापको राम्रो सन्देश दिन्छन्। पारिवारिक सदस्य मयूर र सर्प सहज बैरलाई बिर्सेर साथ-साथ खेल्छन्। न्याय र प्रेमको कत्रो आदर्श! यसबाट विविध विषमताबाट त्रस्त एवं आजित भएको विश्वको लागि सह-अस्तित्वको राम्रो उदाहरण प्रस्तुत हुन्छ।

समुद्रमथनबाट निक्लेको कालकूट विषले ब्रह्माण्डलाई विषमय तुल्याउन सक्ने देखेर काटकूट विषलाई ग्रहण गरी विश्वब्रह्माण्डलाई बचाउने त्यस्तो त्यागमय, उदार विचारका प्रवर्तक शिवको महान् गुणहरूको केही अंशमात्रै हामीले आफ्नो जीवनमा ल्याउन सक्यौँ भने दिनानुदिन बढ्दै गइरहेको स्वार्थीपन, “म मात्र बाँचु अरू जे सुकै होऊन्” भन्ने निकृष्ट भावनालाई घटाउन, हटाउन मदत पुग्ने देखिन्छ।

शिवरात्रि यिनै महान् देवाधिदेव भगवान् शिव, महादेव, शङ्कर, पशुपतिनाथको आराधनाको प्रमुख पर्व हो। यस्ता अनुपम गुणशाली देवको आराधना गर्दै, उनको आदर्श चरित्रको कीर्तन र पारायण गर्दै यदि उनको आदर्शको केही अंशमात्र पनि ग्रहण ग-यौँ भने कति कल्याण हुने होला कल्पना गरौँ त! स्वार्थ-परता, अहंमन्यता र विलासिताले हाम्रो जीवनलाई खोक्रो बनाइरहेको छ। त्यसबाट उन्मुक्त भएर त्यागमय, सेवामय जीवन व्यतीत गर्ने हो भने मनुष्य जीवनको आनन्द र सौन्दर्यलाई सहजरूपमा प्राप्त गर्न सक्छौँ।

महाशिवरात्रिलाई व्रतहरूमा सबैभन्दा प्रमुख अर्थात् व्रतराज मानिन्छ। यो परम पावन दिनमा कस्तो व्रत बस्ने  वा कस्तो संकल्प गर्ने ?  स्नान, पूजा-पाठ तथा फलफूलादि ग्रहण त गरौँला तर त्यसभन्दा पनि ठूलो व्रत त “दया, माया, करुणा, अहिंसा, सद्‌भाव, न्याय, मैत्रीभावलाई सम्मान गरेर मानवतालाई आत्मसात् गर्छु, पृथ्वीका सम्पूर्ण जीवलाई ईश्वरको स्वरूप सम्झेर तिनको अस्तित्वको ख्याल गर्छु, मातृभूमिको चातुर्दिक विकासमा इमान्दारीसाथ आफ्नो गक्षले, क्षमताले, योग्यताले भ्याएसम्म योगदान पु-याउँछु, सकारात्मक सोचको साथ  जे काम गर्छु त्यसले राष्ट्रको प्रतिष्ठालाई अभिबृध्दि गर्ने काममात्रै गर्छु” भन्ने सङ्कल्प लिएर कर्मक्षे्त्रमा जुट्न सके नै महाशिवरात्रिजस्तो पर्वको युगान्तकारी महत्त्व हुन सक्छ।

अनि  व्रतराजको महानता प्रष्टिन सक्छ। नत्र हरेक वर्ष महाशिवरात्रि आउँछ, जान्छ। औपचारिकतामै समाप्त हुन्छ, जसको कुनै अर्थ हुँदैन।महाशिवरात्रिको धार्मिक,आध्यात्मिक रूपले अनगिन्ती महत्त्व रहेको सन्दर्भमा यसलाई अरू उजागर गरेर बढीभन्दा बढी तीर्थयात्रीहरू पशुपतिनाथमन्दिरलगायतका शिवमन्दिरहरूमा आउने तथा उनीहरूको लागि आवश्यक सरसुविधाको विकास गर्न सक्यौँ भने धार्मिक पर्यटनको प्रवर्ध्दनमा समेत हाम्रा चाडपर्वहरूको अतुलनीय योगदान पुग्ने कुरा मननीय छ। लेखक पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव हुनुहुन्छ ।