नयाँ समीकरणको प्रयास : अग्रसरता लिन कांग्रेसलाई जसपाको प्रस्ताव

69

काठमाडौं । नयाँ सत्तासमीकरणका लागि निर्णायक भूमिकामा रहेको संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक निकासका लागि अग्रसरता लिन सुझाब दिएको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार जसपाका नेतासँग छलफल गर्दै उनीहरूका चासो सम्बोधनमा सकारात्मक रहेको बताएको अर्को दिन जसपाले कांग्रेससँग संवाद गरेको हो ।

कांग्रेससँग औपचारिक छलफलका लागि शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका जसपाका शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले भूमिका निभाउनुपर्ने मत राखेका थिए । छलफल सकारात्मक भएको र निरन्तरता दिने सहमति भएको कांग्रेस र जसपाका नेताहरूले बताएका छन् ।

‘करिब एक घन्टा कुराकानी भयो । जसपाका नेताहरूले अहिले कांग्रेसले अग्रसरता लिनुपर्छ र एउटा निर्णयमा पुग्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । म्यान्डेट पाएको दलले सरकार चलाउन नसकेको अवस्थामा स्वाभाविक रूपमा प्रतिपक्षी दलले अग्रसरता लिनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो । कांग्रेसले अग्रसरता लिएर अहिलेको अवस्थालाई निकासमा पु¥याउनुपर्छ भन्ने उहाँहरूको जोड थियो,’ छलफलमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘उहाँहरूले अहिलेको अवस्थामा कांग्रेसले निकासका लागि अग्रसरता लिनुपर्छ भन्नुभएको हो । उहाँहरूले कांग्रेसले प्रधानमन्त्री नै लिओस् भन्नुभएको छैन । तर, निकासका लागि कांग्रेसको भूमिका खोज्नुभएकोचाहिँ हो ।’

बैठकबाट बाहिरिने क्रममा जसपाका अध्यक्ष महन्थ ठाकुरले वर्तमान संकट टार्न अहिलेको अवस्थामा मिलेर जाने भन्ने विषयमा छलफल भएको बताए । ‘हामीले हाम्रा एजेन्डा राख्यौँ । हाम्रा साथी जेलमा छन्, उनीहरूको रिहाइ गर्नुपर्नेछ, झुटा मुद्दाहरूको फिर्ता र सफाइको विषय छ । नागरिकताको समस्या समाधान हुनुपर्छ, हामीले त्यो भन्यौँ । मिलेर जाऔँ भन्ने हो, तर त्यस्तो कुनै सहमति भएको छैन,’ अध्यक्ष ठाकुरले भने, ‘बृहत् छलफलको आवश्यकता छ, हामी माओवादीसँग पनि छलफल गर्छौँ, त्यसपछि एउटा निष्कर्षको कुरा हुन्छ ।’

जसपाको नेतृत्वमा छलफल चलाउने विषयमा छलफल भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा ठाकुरले भने, ‘तपाईंको मुखबाट सुनेँ । यो त खुसीको कुरा हो ।’ तर, अबको प्रधानमन्त्रीमा त तपाईंको नाम चर्चामा छ नि भन्ने अर्को प्रश्नमा ठाकुरले भने, ‘यस्तो राम्रो खबरका लागि तपाईंलाई धन्यवाद । यो त मेरा लागि खुसीको सरप्राइज नै भयो ।’

प्रवक्ता शर्माले समसामयिक राजनीतिक संकटका विषयमा छलफलको सुरुवात भएको बताए । ‘आज उहाँहरूसँग मात्रै संवाद भएको हो । संवाद सकेर उठ्दा संवादलाई निरन्तरता दिने र माओवादी केन्द्रसँगको पनि संवाद गरिसकेपछि फेरि पनि बस्ने भन्ने सहमति गरेका छौँ,’ शर्माले भने ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतका नेता सहभागी थिए । जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो सहभागी थिए ।

……

जसपाले कांग्रेसले अग्रसरता लिएर निकास दिनुपर्छ भनेको छ, चाँडै परिपक्व समय बन्ने आशा छ : विश्वप्रकाश शर्मा, प्रवक्ता, कांग्रेस

कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल गरेको छ, बैठकको निष्कर्ष के हो ? 

अनौपचारिक बैठक हो, नेताहरूले आ–आफ्नो धारणा राख्नुभयो । तर, कुनै निर्णय भएको छैन । त्यसैले धारणालाई धारणाकै रूपमा बुझ्नुपर्ने हुन्छ । सबै नेताको समान राय व्यक्त भएको छ– प्रधानमन्त्री केपी ओलीजीको सरकारलाई बिदाइ गर्नुपर्छ । र, कांग्रेसले संसद्मा रहेका सबै पार्टीलाई नेतृत्व गरेर अगाडि बढ्नुपर्छ ।

यसको मतलब कांग्रेसले अब आफ्नै नेतृत्वको सरकार बनाउनुपर्छ भन्ने हो ?

नेताहरूले ओलीको बहिर्गमनका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्नुभएको छ । तर, कांग्रेस निष्कर्षमा पुगेको होइन । धारणा आउनु र निर्णय हुनु फरक हो । छलफल सुरु भएको छ, सुझाब आएका छन्, राय व्यक्त भएका छन् ।

वार्तामा के–के कुराकानी भयो ?

करिब एक घन्टा कुराकानी भयो । जसपाका नेताहरूले अहिले कांग्रेसले अग्रसरता लिनुपर्छ र एउटा निर्णयमा पुग्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको अवस्थामा स्वाभाविक रूपमा प्रतिपक्षी दलले अग्रसरता लिनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो । कांग्रेसले अग्रसरता लिएर अहिलेको अवस्थालाई निकासमा पु¥याउनुपर्छ भन्ने उहाँहरूको जोड थियो ।

त्यो भनेको अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने हो ?

बैठकमा पूरै समय म पनि सहभागी थिएँ । उहाँहरूले अहिलेको अवस्थामा कांग्रेसले निकासका लागि अग्रसरता लिनुपर्छ भन्नुभएको हो । उहाँहरूले कांग्रेसले प्रधानमन्त्री नै लिओस् भन्नुभएको छैन । तर, निकासका लागि कांग्रेसको भूमिका खोज्नुभएकोचाहिँ हो ।

जसपाको चासो के थियो, कांग्रेसले के भन्यो ?

उहाँहरूले उठाएका चारवटा विषयमा हामीले पनि छलफल गरिसकेका थियौँ । उहाँहरूले पनि ती विषय फेरि राख्नुभयो । तर, अहिले नै कांग्रेसको सरकार छ र ती पूरा हुनुपर्छ भन्ने ढंगले सर्तका साथ राख्नुभएको होइन । उहाँहरूले ओलीलाई बिदाइ गर्नुपर्छ भन्दै गर्दा अब बन्ने सरकारले हामीले उठाएका मुद्दा कसरी सम्बोधन गर्छ भन्नेमा आफ्नो मत राख्नुभयो । कांग्रेसका तर्फबाट हामीले मुख्यतः अहिलेको निकासको बाटोमै केन्द्रित भएर कुराकानी राख्यौँ । हामीले अहिले नै सरकारको नेतृत्व लिँदै छौँ, गर्दै छौँ । र, तपाईंहरूका माग हामी पूरा गर्छौँ भन्ने वचनबद्धताका साथ कुरा गरेनाँै । तर, कांग्रेसकै नेतृत्वमा संविधान बनेको हो । त्यसवेला हामीले दुईबुँदे संशोधन प्रस्ताव पनि दर्ता गरेका हौँ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि संविधानको संशोधनको प्रस्ताव गरेका थियौँ । तत्कालीन नेकपा एमालेले समर्थन नगर्दा प्रस्ताव फेल भएको थियो । त्यसकारण तपाईंहरूले नै संविधानप्रतिको दृष्टिकोणको दायरा बढाउनुपर्छ भनेका छौँ । तर, त्यो कुन रूपमा, कसरी भन्ने विषय प्रवेश भइसकेको छैन ।

अरू दलहरूसँग संवाद गर्नेलगायतका विषयमा कांग्रेस अब के गर्छ ?

आज उहाँहरूसँग मात्रै संवाद भएको हो । संवाद सकेर उठ्दा संवादलाई निरन्तरता दिने र माओवादी केन्द्रसँगको पनि संवाद गरिसकेपछि फेरि पनि बस्ने भन्ने सहमति गरेका छौँ ।

अनि कांग्रेस, माओवादी र जसपाको गठबन्धन बन्दै गर्दा कांग्रेसले त्यसको नेतृत्व गर्ने हो कि कांग्रेस अरू पार्टीको नेतृत्व स्विकार्न पनि तयार हुन्छ ? 

अहिले हामी त्यो विषयमा प्रवेश नै गरेका छैनौँ, किनभने पार्टीमा आज जम्मा एउटा पदाधिकारीको बैठक भएको हो । त्यसपछि जसपासँग संवाद भएको हो । कांग्रेसभित्र ओलीजीप्रतिको बुझाइमा एकखालको मनोवैज्ञानिक एकताको वातावरण बनेको छ । तर, एकताको वातावरण बन्नु र निर्णय गर्ने फरक हुन् । अब चाँडै परिपक्व समय बन्ने आशा गरौँ ।  आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।