सरकारले देश चलाउने नैतिकता गुमायोः काँग्रेस सचेतक पुस्पा भुसाल

495
प्रेमनारायण आचार्य
सन्धिखर्क, १ चैत । सन्धिखर्क नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका सचेतक पुष्पा भुसालले वर्तमान सरकारले देश चलाउने नैतिकता गुमाएकाले नेपाली कांग्रेसले अन्य दलहरुसंग सरकार बनाउन संवाद थालेको बताउनु भएको छ ।
सन्धिखर्कमा भएको नेपाल शिक्षक संघको प्रतिनिधीसभा बैठकलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य समेत रहेकी भुसालले केपी ओली नेतृत्वको सरकारले संविधान पालना नगरेको र निरन्तर संविधान विपरित क्रियाकलाप गरेको भन्दै प्रधानमन्त्रीले एक–एक गरेर जनताको अधिकार खोस्दै गएको पनि बताउनु भयो । मिडिया विधेयक, मानवअधिकार विधेयक, सुरक्षा परिषद् विधेयक मार्फत अधिकारहरु कुन्ठित गर्ने, अनुसन्धान विभाग, राजस्व विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुले सरकारको नियत प्रष्ट हुने उहाँको भनाई छ ।
सरकार बनाउन कांग्रेसले संवाद थालेको भन्दै नेतृ भुसालले कांग्रेसलाई सरकारमा जान भने कुनै हतारो नभएको बताउनु भयो । वर्तमान सरकारले संविधान विपरित कार्यहरु गर्दै गएकाले भोलीका दिनहरुमा हुने निर्वाचनहरु स्वच्छ ढंगले नहुनेमा शंका व्यक्त गर्नुभयो ।
‘कांग्रेस सरकारमा जान हतारिएको होईन,उहाँले भन्नुभयो,‘वर्तमान सरकारका क्रियाकलाप शंकासपद छन्, यो सरकार अधिनायकवाद तर्फ उन्मुख छ, त्यसैले कांग्रेसले सरकार बनाउन पहल थालेको छ ।’ कांग्रेसले प्रधानमन्त्री र मन्त्री बनाउन संवाद नथालेको भन्दै उनले वर्तमान राजनितिक परिस्थितीलाई निकास दिन खोजिएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति विष्णु प्रसाद भुसाल, पुर्ब सभापति पिताम्बर शर्मा, शिक्षक संघका पुर्ब केन्द्रिीय अध्यक्ष मोहन ज्ञवाली, शिक्षक संघका उपमहासचिव धना भण्डारी, नेपाली कांग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरेको अध्यक्षता, उपाध्यक्ष नेत्र प्रसाद पोख्रेलको स्वागत मन्तब्य र सचिव लालमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।