पणेनाले जित्यो वडा स्तरिय भलिबलको उपाधि

358

घनश्याम पौडेल
अर्घाखाँची, १ चैत्र । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा सञ्चालन भएको वडा स्तरिय भलिबलको उपाधि वडा नं. १ पणेनाले हात पारेको छ ।

वडा नं. ४ पटौटीलाई पराजित गर्दै पणेनाले जित हात पारेको हो । आईतबार सम्पन्न फाइनल खेलमा वडा नं. १ पणेनाले वडा नं. ४ पटौटीलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

उपाधि हात पार्न प्रयासरत रहेका दुबै टिमले दुई–दुई सेटमा जित निकाले पनि अन्तिम सेट वडा नं. १ पणेनाले जितेको हो ।

त्यस्तै पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकले वडा नं. ७ अडगुरीलाई पराजित गर्दै तृतिय स्थान हासिल गर्न सफल भएको छ ।

८ वटै वडाको सहभागिता रहेको भलिबल खेल प्रतियोगिताको खेलको समापन समारोहमा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले खेलकुद क्षेत्र महत्वपुर्ण रहेको बताउँनुभयो ।

उहाँले स्वस्थ र राष्ट्रका लागी खेलाडी आवश्यक रहेको बताउँदै गाउँपालिकाले खेल क्षेत्रलाई ध्यान दिएको बताउँनुभयो ।

खेलकुदमा प्रथम हुने टिम पणेनालाई ५० हजार, द्धितिय पटौटीलाई ४० हजार र तृतिय पोखराथोकलाई २८ हजार पुरस्कारका साथमा शिल, मेडल र प्रमाणपत्र दिईने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले बताउँनुभयो ।