तीन गुटमा विभाजन भयाे नेकपा एमाले : आज छुट्टाछुट्टै कार्यक्रम

222

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेकपा एमाले जुट्नेकि फुट्ने भन्ने दोसाँधमा रहेको छ। शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले मंगलबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन्।

एमालेभित्रको मतभेत र विवाद अन्त्यका लागि सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफल निस्कर्षमा नपुगेपछि गुटगत कार्यक्रम रोकिएनन्। मंगलबार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बजे लागि बालुवाटारमा चियापान आह्वान गरेका छन्।

ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पठाएको एसएमएसमा भनिएको छ ‘सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूले पार्टी केन्द्रीय कमिटीको १२ औं  बैठकको सन्दर्भमा आयोजना गर्नुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध छ।’ ओलीले माधव नेपाल पक्षसहित सबै केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा बोलाएपनि कार्यक्रममा माधव-झलनाथ समूहले बहिष्कार गर्ने भएको छ।

यसैगरी ओली पक्षसँगको छलफल निष्कर्ष ननिस्किएपछि माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। सोमबार बानेश्वरस्थित अर्याल होटलमा माधवसमूहका केन्द्रीय सदस्य र सांसदहरुको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो। सोहि भेलाका सन्दर्भमा मंगलबार दिउँसो दुई बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिए।

नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार र बिहीबार राजधानीमा बोलाएको राष्ट्रिय भेलामा पेश गर्ने राजनीतिक प्रतिवेदन तयार भएको बुझिएको छ। सो प्रतिवेदनलाई अन्तिमरुप दिन मंगलबार दिउँसो स्थायी समिति बैठक समेत बोलाइएको एक नेताले जानकारी दिएका छन्।

ओलीले महासचिवबाहेकका पदाधिकारी हटाउने र माओवादी नफर्केका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गत शुक्रबार गरेका थिए। नेपाल पक्षले नेकपाको एकतादेखि अदालतले बदर गर्दासम्म शून्य अवधि मानेर एकतापूर्वको २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने प्रस्ताव ओलीसमक्ष राखेको थियो। उसले २८ फागुनमा ओली पक्षले यसअघि प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएको, माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय खारेज गर्नुपर्ने अडान लिएको थियो। तर, त्यसमा ओली सहमत नदेखिएको नेपाल पक्षको आरोप छ। नेपाल पक्षले पनि पार्टीको प्रदेश इन्चार्ज र विभागको जिम्मेवारी तोक्दै समानान्तर अभ्यास सुरु गरिसकेको छ।

सोमबार विवाद समाधान गर्न भएको छलफलमा प्रधानमन्त्री ओलीसहित उनी पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्बाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली सहभागी थिए। यस्तै, वरिष्ठ नेता नेपालसहित उनी पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपश्चात माधव-झलनाथ पक्ष अर्को खेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सहकार्यमा पुगेको थियो। नेकपा नामबारे सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड र माधव पक्ष आ-आफ्नै दलमा फर्किने निर्णय गरेका थिए। गत सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड – माधव पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले आ-आफ्नो घर फर्किने भन्दै उनीहरू पेरिसडाँडाको बैठकबाट बिदा भएका थिए। त्यसपश्चात माधव नेपाल र झलनाथ खनाललगायतका तत्कालीन एमालेका नेताहरू एमालेमै र प्रचण्ड पेरिसडाँडामै रहने भएका हुन्।  अहिले देशभर नेकपा एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै कार्यलय र साइन बोर्ड राख्ने अभियान चलिरहेको छ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ओलीसमूह र माधव-प्रचण्ड समूह विभाजित आन्दोलनमा उत्रिएपश्चात उपाध्यक्ष वामदेव गौतम कुनै समूहमा लागेका थिएनन्। यद्यपी उनले आफ्नो नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’घोषणा गरेका थिए।

सर्वोच्चले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा व्युताइदिएपनि उनी दुवै समूहमा लागेका छैनन्। सोमबार पनि पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा गौतम सहभागी भएनन्। उनले मंगलबार पार्टी एकता राष्ट्रिय अभियानको केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेका छन्। बिहान ११ बजेबाट गौतम पक्षको बैठक बस्ने वामदेवनिकट स्रोतले जनाएको छ। गौतम एमालेका उपाध्यक्ष पनि हुन्। उनी विगतका सबै तिक्तता बिर्सेर दुबै पक्षले गाली गर्ने क्रम रोक्नुपर्ने र एकताको बाटो खुला राख्नुपर्ने बताउँदै आएका छन्।

तीनै गुटले आ-आफ्ना अडान राखेपछि एमालेमा एकता हुन सकिरहेको छैन। अन्नपूर्णले समाचार लेखेकाे छ ।