भारतबाट फर्कने नेपालीमा देखिन थाल्यो कोरोना, सभा, सम्मेलन नगर्न अनुरोध

387

काठमाडौं । पश्चिमी नाका गड्डाचौकी हुँदै भारतबाट आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको छ । शनिबार नेपाल भित्रिएका उनमा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा उच्च सतर्कता अपनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले शनिबार नेपाल भित्रिएका एकजनामा कोरोना पुष्टि भएको बताए । भारतबाट आउनेमा कोरोना देखिन थालेपछि सीमामा परीक्षण सुरु गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार विभिन्न १४ नाकाबाट एक हजार दुई सयजना नेपाल प्रवेश गरेका छन् । त्यस्तै, शुक्रबार एक हजार ३४ जना प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेकामध्ये कोभिडसँग लक्षण मिलेकाहरूको मात्रै एन्टिजेन परीक्षण भएको छ । भारतमा नयाँ प्रजातिको भाइरस देखिएका वेला त्यहाँबाट नेपाल प्रवेश गरेका नागरिकमा पनि देखिन थालेको भन्दै महाशाखाका निर्देशक डा। पौडेलले दोस्रो वेभको जोखिम बढेको बताए ।

हाल भारतलगायत विश्वका धेरै देशहरूमा युके भेरियन्ट देखिएको छ । त्यसैले सीमामा पोजेटिभ देखिएकामा पनि युके भेरियन्ट हुन सक्ने आशंका पनि गरिएको छ । चिकित्सकहरूले नयाँ भेरियन्टको फैलावट तीव्र गतिमा भएको र मृत्यु पनि सोहीअनुसार हुने भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

उनीहरूले सुदूरपश्चिममा उच्च जोखिम औँल्याएका छन् । महाशाखाले देशभरका स्थानीय निकायलाई तयारी अवस्थामा बस्न परिपत्र गरिसकेको जनाएको छ ।‘१४ नाकामा हेल्थ डेस्क राखिएको छ,’ निर्देशक डा। पौडेलले भने, ‘यी नाका हुँदै दैनिक पाँच हजारको दरमा नागरिक नेपाल प्रवेश गर्न सक्छन् । उनीहरूमध्ये पाँच प्रतिशत अर्थात् दुई सय ५० जनाको कोरोना परीक्षण गर्ने हो । यसो गर्दा सात हजार पाँच सय किटले एक महिना पुग्छ । हाल २० हजार एन्टिजेन किट मौज्दात छ ।’

स्वास्थ्य मन्त्रालयले पछिल्लो समय भारतमा कोरोना संक्रमण बढ्न थालेको भन्दै सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड नगर्न अनुरोध गरेको छ । प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै भारतमा बढेको संक्रमणले नेपालमा त्रास सिर्जना गरेको बताए । सामाजिक, भौतिक दूरी कायम गर्न र अनिवार्य रूपमा मास्कको प्रयोग गर्न उनले सबैमा आग्रह गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।