१८ औँ राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म दर्शन सम्मेलनको तयारी अन्तिम चरणमा, मुख्यमन्त्री पोख्रेलले उद्घाटन गर्ने

210

दाङ्ग,चैत०९ ।

दाङ्गको धार्मिक सांस्कृतिक पर्यटनको विकास र विस्तारमा योगदान गर्ने उदेश्यले नेपाल ज्योतिष परिषदको आयोजनामा १८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म दर्शन सम्मेलन चैत्र २१ र २२ गते दाङको घोराहीमा हुने भएको छ ।

नेपाल पत्रकार महासंघको भवन घोराहीमा आज भएको पत्रकार सम्मेलन मार्फत नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचिव एवम् सम्मेलन व्यवस्थापन समितिका संयोजक सहप्राडा अर्जुनप्रसाद भट्टराईले सम्मेलन लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलबाट उद्घाटन एवम् नेपाल संस्कृत विश्वबिद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने बाट समापन हुने बताउनुभएको छ । सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहित लगभग ४५० भन्दा बढी ख्यातिप्राप्त सुप्रसिद्ध विशिष्ट ज्योतिषीहरुको सहभागिता रहने बताउनुभयो । सम्मेलनले लुम्बिनी प्रदेशको धार्मिक तथा सांस्कृतिक पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्ने र सम्मेलनमा आचरण निर्माणमा पूर्वीय दर्शनको भूमिका, खगोल र विज्ञान, कुण्डली विज्ञान अनुसार पेशा, व्यवसाय, वैदेशिक यात्रा, दाङ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु, वास्तु अनुसार गृह निर्माणमा मूलद्वारको भुमिका विषयहरुमा छलफल हुने बताइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले हाम्रो धर्म र संस्कृतिलाई व्यवस्थित गर्न र संरक्षणमा सम्मेलनको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो । कार्यक्रममा नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य केशव गौतम, लुम्बिनी प्रदेशका महासचिव ढुण्डीराज ज्ञवाली, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफान जिल्ला कार्यसमिति दाङका अध्यक्ष कपिलदेव सुवेदी, लुम्बिनी प्रदेश सदस्य माधवा शर्मा, घोराही नगर कार्यसमितिका अध्यक्ष ढुण्डीराज खनाल, तुलसीपुर नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद देवकोटा रहनुभएको थियो ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचीव एवम् सम्मेलन व्यवस्थापन समितिका संयोजक सहप्राडा अर्जुनप्रसाद भट्टराईको अध्यक्षता,लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष मेघराज अचार्य तुफानको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सहजीकरण जिल्ला कार्यसमिति दाङका सदस्य सन्जीव देवकोटाले गर्नुभएको थियो ।