डा. लालमणि पाण्डेय

ॐ द्यौराल्यै नम: ।

 अर्घाखाँचीमा अवस्थित सुपा देउराली हिन्दुहरूको सिद्ध शक्तिपीठ  हो । वैदिक सनातन धर्मका विभिन्न सम्प्रदायमध्ये आदि शक्ति अर्थात्  देवीको उपासना गर्ने सम्प्रदायलाई शाक्त भनिन्छ । शाक्त सम्प्रदायमा देवीलाई सर्वोच्च देवता मानिन्छ र देवीका विभिन्न स्वरूपको उपासना गरिन्छ । देवीका विभिन्न स्वरूपमध्ये देउराली एउटा स्वरूप मानिन्छ ।  सुपा देउराली पीठको धार्मिक महत्त्वका विषयमा जति लेखे पनि अपूर्ण नै हुन्छ । त्यसलेसुपा देउरालीको ऐतिहासिक परिचय तथा धार्मिक महिमासम्बन्धमा यथार्थ ज्ञान प्रकाश ल्याउनु यस लेखको उद्देश्य रहेको छ । यस लेखमा विभिन्न विद्वानका उपलब्ध लेख, रचना, जनश्रुति आदिलाई स्रोत सामग्रीको रूपमा प्रयोग गरिएको छ । साथै यसमा सुपा देउरालीका सम्बन्धमा म आफैले सुनेका, देखे भोगेका र अनुभव गरेका विषयसमेत समावेश  गरेको छु ।

आध्यात्मिकता र ऐतिहासिकता

वैदिक सनातन हिन्दुधर्मावलम्बीहरूको प्रसिद्ध धार्मिक शक्तिपीठसुपा देउरालीको स्थापना कहिले र कसले गरे भन्ने विषयमा ऐतिहासिक तथ्य प्राप्त हुन सकेको छैन । प्रसिद्ध तीर्थस्थलसुपा देउराली मन्दिर नेपालको पाँच नम्बर प्रदेशको अर्घाखाँची जिल्ला, सितगंगा नगरपालिका वडा नं. २ मा अवस्थित छ ।यहाँबाट उत्तरतर्फ सन्धिखर्क नगरपालिका पर्दछ । यो मन्दिर  महाभारत पर्वत शृङ्खलाको समुद्र सतहदेखि १५०० मिटर उचाइमा दक्षिणपूर्वी भिरालो पाखोमा रहेको छ ।

आर्यावर्त वैदिक सनातन हिन्दुहरूको पवित्र भूमि हो । त्यसमा पनि हिमाल पर्वतआध्यात्मिक ज्ञान र सभ्यताको उद्गमस्थल मानिन्छ ।  नर्तनाचल पर्वत र सुपा देउराली क्षेत्र सत्ययुगदेखि नै तपोभूमिका रूपमा प्रसिद्ध रहेको मानिन्छ । पौराणिक कालदेखि नै यो क्षेत्र ऋषिमुनिहरूको तपोभूमि एवं देवताहरूको वासस्थलका रूपमा व्याख्या गरिएको छ । यो भूमि शिव पार्वतीको प्रिय क्रीडास्थल थियो ।

विष्णुराज आत्रेयका (२०७४) अनुसार सत्य युगमा यसै पर्वतको फेदीमा सिद्धानदीको तटमा सोम (चन्द्रमा) ले तपस्या गरेर शिव पार्वतीको दर्शन पाएका थिए । पार्वतीले सोमलाई दर्शन दिएको स्थानमा सत्य युगदेखि नै  देउराली देवीको स्थापना गरिएको थियो ।

ऐतिहासिक दृष्टिले अर्घाखाँचीमा शाक्त मतको जग मध्यकालमा बसेको पाइन्छ । वर्तमान अर्घाखाँची जिल्ला मध्यकालमा अर्घा र खाँची चौबीसी राज्य अन्तर्गतका दुई राज्यमा विभाजित थियो । दुबै राज्यका क्षत्रिय ठकुरी राजा वैदिक सनातन हिन्दुधर्मावलम्बी  देवीका उपासक शाक्त थिए । त्यस वेला अर्घा र खाँचीकोट दरबारको प्राङ्गणमा निर्माण गरिएका महाकाली देवीका मन्दिर दुबै ठाउँमा अद्यापि शक्तिपीठका रूपमा प्रसिद्ध छन् । तात्कालिक खाँचीका राजाले खाँचीकोट दरबार, डिहीडाँडा, धातिवाङ र जुवाकोट किल्लामा महाकाली देवीका मन्दिर बनाएका थिए । देउराली देवीको मन्दिर पनि खाँचीका राजाले मध्यकालमा पुनर्निर्माण गरेको मानिन्छ । राजाराम सुवेदी (२०६१) का अनुसार “खाँचीका राजा विश्वपाल शाहले वि. सं. १६०० मा सुपामादेराली देवीको मन्दिर पुनर्निर्माण गरेका थिए” (पृ. ५२) । तर यसको कुनै ऐतिहासिक प्रमाण भने प्राप्त छैन ।

खाँचीकोटबाट  दक्षिणतर्फ आवतजावत गर्ने मूलबाटो  महाभारत पर्वत शृङ्खलाको खोँच हुँदै सितखोलाको पश्चिम किनारबाट थियो । मोटरबाटोबन्नुभन्दा पहिले अर्घाखाँची, गुल्मीको पश्चिम भेग र प्यूठानको पूर्व-उत्तर  भेगका मानिसहरू यही बाटो भएर आवतजावत गर्दथे । सोही मूलबाटोको पूर्वी किनारमा सितखोलाको पश्चिम तटमा महाभारतको खोँचमा देउराली देवीको मन्दिर थियो । सुपो हातमा लिएकी “शूर्पहस्तादेवी” (पृ.१०८) संस्कृत शब्दबाट सुपा देउराली देवी हुन गएको हो भन्ने विष्णुराज आत्रेयको (२०७४)  मत रहेको छ । यस सम्बन्धमा जनस्तरमा प्रचलित मत भने योभन्दा फरक छ । देउराली देवीको मन्दिरको दक्षिणतर्फ सुपा नाम गरेको सानो बस्ती छ । त्यसै बस्तीको उत्तरतर्फ देउराली देवीको मन्दिर अवस्थित छ । तसर्थ सुपामा अवस्थित देवी भन्ने अर्थमा देउराली देवीलाई सुपा देउराली भनिएको हो भन्ने लोकसम्मत बलियो मत रहेको छ ।

मूलबाटोको किनारमा सितखोलाको पश्चिम तटमा अवस्थित पुरानो मन्दिर अर्घाखाँची बल्कोट निवासी बाबुराम रायमाझीले मोटरबाटोको किनारमा स्थानान्तरण गरी नयाँ मन्दिरको निर्माण वि. सं. २०४० सालमा गरेका थिए । त्यसपछि नयाँ मन्दिरमा नित्य पूजाको व्यवस्था मिलाइएको थियो । अर्घाखाँचीको बाँगीमा जन्मिएका तथा काठमाडौंको मातातीर्थमा आश्रम बनाएर बसेका नरनारायण नाम गरेका एकजना बाबा थिए । उनको नरनारायण बाबा आश्रमबाट  २०६४ सालमा करिब एक करोड पच्चीस लाखको लागतमा हालको भव्य मन्दिर निर्माण सम्पन्न गरिएको थियो (सुपा देउराली संरक्षण समिति) । देउराली देवीको मन्दिरसँगै महादेवको मन्दिर पनि निर्माण गरिएको छ । यसैगरी सुपा बस्तीको उत्तर पर्वतको फेदीमा सितखोलाका किनारमा कश्यप ऋषिको गुफा छ । गुफाको नजिकै घिमिरे बन्धुहरूको सहयोगमा २०७५ सालमा  कश्यप ऋषिको मूर्ति स्थापना गरिएको छ ।

 

(सुपा देउराली मन्दिर)

दर्शन र पूजा

देउराली मन्दिरमा ब्राह्मण पुजारीद्वारा नित्य पूजा गरिन्छ । मन्दिरको नजिकका बासिन्दा खनाल ब्राह्मणहरू सुपा देउरालीका पुजारी रहेका छन् । खनालहरूको आशौच परेका बखत घिमिरे ब्राह्मणबाट नित्य पूजा चल्छ । नित्य पूजामा तान्त्रिक विधिले सात्त्विक पूजा गरिन्छ । नित्य पूजा ब्राह्मणद्वारा गरिने भए तापनि हरेक भक्तलाई जात र वर्णका आधारमा  कुनै भेदभाव गरिँदैन । दर्शनका साथै भक्तहरूले आफै देवीको पूजा गर्न पाउने सुपा देउरालीको विशेषता रहेको छ ।

मूलबाटोको किनारमा स्थापित सुपा देउरालीमा यो बाटो भएर आवतजावत गर्ने बटुवाहरूले दर्शन गर्ने र फूलपाती चढाउने प्रचलन थियो । पुरानो मन्दिरको पश्चिमतर्फ पहराको कुनामा सेतो धूलो हुन्थ्यो । सो धूलो देवीको प्रसादका रूपमाश्रद्धा पूर्वक निधारमा लगाउने गरिन्थ्यो । यसलाई प्राचीन कालमा यहाँ सम्पन्न यज्ञको हवनको शेष रहेको विभूत मानिन्थ्यो । चुन ढुङ्गाको सेतो माटो भस्म जस्तै पवित्र मानिन्थ्यो । मोटर बाटो निर्माण भएपछि मन्दिर स्थानान्तरण गरियो । माटोको विभूत लगाउने चलन पनि हराउँदै गयो ।  यात्रामा देउराली देवीलाई फूलपाती चढाई विभूत निधारमा लगाएमा शुभ साइत हुन्छ भन्ने मान्यता रहेको छ । आजभोलि मोटर बाटोबाट आवतजावत गर्ने व्यक्तिले देउराली देवीको दर्शन गर्ने र रातो फूल, धजा, भेटी आदि चढाउने र टीका प्रसाद ग्रहण गर्ने चलन छ ।

मध्यकालमा खाँचीका राजाले देउरालीलाई आफ्नो वंशको कुलदेवीको रूपमा  पूजा गर्ने चलन चलाएका थिए । सुपा देउराली खाँचीको राजवंशले कुलदेवीमान्दछन् । खाँचीका राजाका वंशज शाह ठकुरीहरूले अद्यापि प्रत्येक वर्ष सुपा देउरालीमा कुलपूजागर्दछन् । वैशाख पूर्णिमाका दिन कुलपूजा हुन्छ । कुलपूजामा पाठो बलि चढाउने परम्परा कायमै छ ।

आफ्नो इच्छा पूर्ण होस् भनेर देवदेवीलाई पूजा गर्ने वा बलि चढाउने प्रतिज्ञालाई भाकल भनिन्छ । सुपा देउराली देवीलाई भाकल गर्ने चलन ज्यादै प्रसिद्ध छ । देउरालीमा भाकल गरेपछि मनोकामना  सिद्ध हुने जनविश्वास रहेको छ । भाकलअनुसार मनोकामना सिद्ध भएपछि देउरालीमा पूजा गर्न आउने श्रद्धालुहरूको यहाँ प्रत्येक दिन भिड हुन्छ । भाकल बमोजिम कसैले परेवा उडाउने, कसैले नरिवलको बलि चढाउने र कसैले  पाठापाठीको बलि चढाई पूजा अर्पण गर्ने प्रचलन रहेको छ । यसका साथै भक्तजनले सुन, चाँदी, नगद, वस्त्र आदि पनि चढाउँछन् । यसरी श्रद्धालु भक्तजनबाट देवीलाई अर्पण गरेको नगद र जिन्सीको अभिलेख सदाका लागि रहने व्यवस्था पनि गरिएको छ । मनोकामना पुरा हुने विश्वास रहेको हुँदा नेपाल र भारतका विभिन्न ठाउँबाट तीर्थयात्री  सुपा देउरालीको दर्शन र पूजा गर्न आउने क्रममा क्रमशः  वृद्धि हुँदैगएको छ ।देउराली देवीको सकाम वा निष्काम पूजा गर्ने चलन छ । यसका अतिरिक्त यहाँ भक्तजनको इच्छाअनुसार रुद्री, लाखबत्ती बाल्ने, विवाह आदि संस्कार गर्ने व्यवस्था पनि छ । प्रत्येक औँसी, एकादशी तिथि, कृष्णजन्माष्टमी , श्रीपञ्चमी, शिवरात्री, अक्षयतृतीया र रामनवमीमा बलि चढाइँदैन ।

वाराहपुराणमा नर्तनाचल र वाणगङ्गा

सुपा देउरालीदेखि तीन कि. मि. माथि नरपानी पर्दछ । नरपानीलाई पहिले नर्तनाचल भनिन्थ्यो । वाराहपुराणको सोमेश्वरादि लिङ्ग महिममुक्तिक्षेत्रत्रिवेण्यादिमहिमकथनम्नामक अध्यायमा मुक्तिक्षेत्र, कालीगण्डकी र सोमेश्वरको महिमासँगै नर्तनाचल र वाणगङ्गाको वर्णन गरेको पाइन्छ ।  त्रेतायुगमा रावणले तपस्या गरेको तपोवन नर्तनाचल (नरपानी) हो । रावणले शिवताण्डवस्तोत्रको गायन र नृत्यद्वारा महादेवलाई प्रसन्न बनाएर वरदान प्राप्त गरेको यही भूमि हो । नर्तनाचल तपोवनमा तीन रात बसे मात्र तपस्याको फल प्राप्त हुन्छ भनी वाराहपुराणमा यसको महिमा बताइएको छ  । रावणको नृत्यद्वारा देवादिदेव महादेव प्रसन्न भई रावणलाई दर्शनका साथै वरदान प्रदान गरेको तपोभूमि नर्तनाचल नामले प्रसिद्ध हुन गएको हो भन्ने वाराहपुराणमा उल्लेख छ[1] ( अ.१४४, श्लो. ६४ र ६५) । कृष्णमणि त्रिपाठीद्वारा सम्पादित सन् १९५८ मा भारतीय साहित्य विद्यालय, वाराणसीबाट प्रकाशित पाणिनि तपोभूमिमा वाराहपुराणमा वर्णन गरिएको नर्तनाचल नै नरपानी हो भनिएको विषयलाई सूचना विभागबाट प्रकाशित मेचीदेखि महाकालीमा (२०३१) उद्धरण गरिएको छ । यसैगरी विष्णुराज आत्रेय (२०७४) को  सोमतीर्थ र सुपादेरालीमा वाराहपुराणमा गरिएको नर्तनाचलको वर्णन वर्तमान नरपानी र यसका आसपासका स्थानसँग हुबहु मिलेको सम्बन्धमा विस्तृत विश्लेषण गरिएको छ ।यसरी नर्तनाचल नै नरपानी हो भन्ने विषय विवादरहित हुन गएको छ ।

त्रेतायुगमा रावणले तपस्या गरेको नर्तनाचल सितखोलाकोउद्गमस्थल हो । सितखोलाको नाममा सित संस्कृत तत्सम शब्द प्रयोग भएको छ जसको अर्थ सेतो, पवित्र, पुण्य, वाण आदि हुन्छ ।  सत्ययुगमा सितखोलालाईशूर्पानदि वा सिद्धगंगा भनिन्थ्यो भन्ने विष्णुराज आत्रेय (२०७४) को मत रहेको छ (पृ. १२३) । वाराहपुराणमा रावणले तपोबलले वाणद्वारा पर्वतको चट्टान फोडेर प्रकट गरेको पवित्र जलधाराद्वारा रुद्राभिषेक सम्पन्न गरेको र त्यही रुद्राभिषेकको जल बगेको नदी पापनाशिनी, पुण्यसलिला वाणगङ्गा नामले प्रसिद्ध हुने छ भनिएको छ । पापनाशिनी वाणगङ्गामा स्नान गरी वाणेश्वर भगवान् शिवको दर्शन गर्ने भक्तले भागीरथी गङ्गामा स्नान गरेको पुण्य प्राप्त गरी मृत्यु पश्चात् देवता जस्तै स्वर्गमा आनन्द प्राप्त गर्छ[2] (अ.१४४ श्लो. ६३ र ६६) भनी वाणगङ्गाको महिमा वर्णन गरिएको छ । संस्कृतमा सित र वाण पर्यायवाची शब्द हुन् । तसर्थ वाराहपुराणको वाणगङ्गाको अर्थ सितनदी  हो जसलाई लोक व्यवहारमा सितखोला भन्न थालियो । नर्तनाचलबाट पानी बगेर सितखोलाबाहेक अन्यत्र जान सम्भव छैन । नर्तनाचलमादेवादिदेव महादेवलाई अभिषेक गरेको जल बग्ने नदी सितखोला हो । यसबाट सुपा देउराली देवीको चरण स्पर्श गर्दै वहने सितखोला पौराणिक कालदेखि नै पापनाशिनी, पुण्यसलिला नदीको रूपमा प्रसिद्ध भएको प्रमाणित हुन्छ ।

भाकलसम्बन्धी किंवदन्ती

सुपा देउरालीसँग सम्बन्धित लाहुरे टाँसिएको भन्ने एउटा किंवदन्ती प्रसिद्ध छ । परापूर्वकालमा एक जना व्यक्ति जागिरका लागि भारततर्फ जान थालेछन् । बाटोमा सुपा देउराली पर्ने हुँदा देउराली देवीलाई फूलपाती चढाई दर्शन गरेछन् । उनले जागिरका लागि भाकल गरेर दक्षिणतर्फ लागेछन् । भाकलअनुसार उनले जागिर पनि पाएछन् । केही वर्षपछि उनी देउराली मन्दिरको बाटो हुँदै घर फर्कने क्रममा उनले भाकलबमोजिम पूजा नगर्ने विचार गरेछन् । फलस्वरूप उनी त्यही  अलप भए । त्यसपछि उनको आकृति देउराली मन्दिरभन्दा माथि रहेको ढुङ्गाको पहरामा प्रकट भएको हो भन्ने किंवदन्ती रहेको छ । सो आकृति अद्यापि पहरामा देखिन्छ ।

सुपा देउरालीको तीर्थयात्रा

सिद्धपीठ सुपा देउराली देवीको धाम सडक यातायातको दृष्टिले सुगम भएको छ । सार्वजनिक वा निजी सवारी साधनबाट बाह्रै महिना यस धामको तीर्थयात्रा सम्पन्न गर्न सकिन्छ । पूर्वपश्चिम राजमार्गको किनारमा अवस्थित कपिलवस्तु जिल्लाको गोरुसिगेबाट सन्धिखर्क जाने पक्की सडक उत्तरतर्फ लाग्दछ । गोरुसिगेबाट ४७ कि. मि. उत्तरमासुपा देउराली धाम अवस्थित छ । गोरुसिगेबाट उत्तरतर्फ तराईको मैदान पार गरेपछि पहाडको फेदीमा रहेको ऐतिहासिक बजार पथ्थरकोट पुगिन्छ । मोटर बाटो बन्नुभन्दा पहिले यो ठाउँ अर्घाखाँची, गुल्मी र प्यूठानको व्यापारिक केद्र थियो । पथ्थरकोटबाट राजमार्ग पहाडतर्फ लाग्दछ । त्यहीबाट अर्घाखाँचीको सितगंगा नगरपालिकाको यात्रा प्रारम्भ हुन्छ ।  चुरेको जङ्गल पार गरेपछि वाणगङ्गाकोउद्गमस्थल हुँदै  ठाडाको सुन्दर बस्तीमा पुगिन्छ । पहिले जिल्ला सदरमुकाम रहेको ठाडामा हाल सितगंगा नगरपालिकाको केन्द्र रहेको छ । यहाँ ऐतिहासिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण कालिका देवीको मन्दिर पहाडको चुचुरोमा अवस्थित  छ । मोटरबाटोबाट थोरै उकालो चढेर माइकास्थानको टाकुरोमा कालिका  देवीको दर्शन गरी पुण्य आर्जन गर्नु तीर्थयात्राको छुटाउन नहुने पाटो हो । यो ठाउँ प्राकृतिक भ्युटावर  जस्तो छ, जहाँबाट  उत्तरतर्फ महाभारत शृङ्खला, वरिपरि सितगंगाका पहाडी बस्ती र दक्षिणतर्फ तराईको मैदानको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । ठाडामा राजमार्गको किनारमा सुन्दर प्राकृतिक ताल पनि दर्शनीय छ । यसलाई कतै डमरु दह कतै कमलपोखरी भन्ने गरेको पाइन्छ ।  ठाडापछिसीतापुर सोमतीर्थ हुँदै सितखोलाको पुल तरेपछि महाभारत पर्वत प्रारम्भ हुन्छ ।  महाभारतको छोटो उकालो र  एउटा घुम्ती पार गरेपछि सुपा देउराली धाम पुगिन्छ । उत्तरतर्फबाट भने सदरमुकाम सन्धिखर्कबाट २३ कि. मि. यात्रा गरेपछि यहाँ पुगिन्छ । सुपा देउराली धाम पुगेपछि देउराली देवीको दर्शन र पूजा गर्नु तीर्थयात्राको मुख्य लक्ष्य पूरा हुन्छ । पुण्यसलिला सितखोलामा स्नान एवं महादेवको दर्शन गरी पुण्य आर्जनको अवसर पनि प्राप्त गर्न सकिन्छ । देउराली धामबाट तीन कि. मि. माथि नर्तनाचलको (नरपानी) मनोरम दृश्यावलोकन  र त्यहाँबाट तीन कि. मि. पश्चिमतर्फ खाँचीकोटमा कालिका देवीको दर्शन र पूजा पनि तीर्थयात्रमा समावेश गरेमा सुपा देउरालीको तीर्थयात्रा पूर्ण हुन्छ ।  अर्घाखाँचीकोटबाट उत्तरतर्फ सदरमुकाम सन्धिखर्क लगायत बस्तीका साथै धवलागिरि, अन्नपूर्णा, माछापुछ्रे  हिमशृङ्खलाको सुन्दर छटाको अवलोकनको आनन्द प्राप्त  गर्न सकिन्छ ।

सुपा देउराली मन्दिर संरक्षण समिति

मन्दिरको व्यवस्थापनका लागि गैर सरकारी  संस्था सुपा देउराली मन्दिर संरक्षण समिति निर्माण गरिएको छ । यसै संस्थाले मन्दिरको नित्य पूजा, सुरक्षा, संरक्षण, मर्मत लगायतका कार्य गर्दै आएको छ । मन्दिरको व्यवस्थापनमा यो समिति सक्रिय छ । यस समितिमा हाल प्रीतम बहादुर थापा अध्यक्ष र यादवराज घिमिरे सचिव रहेका छन् ।

सुझाव

माटोको विभूत सुपा देउरालीको परम्परागत विशेषता हो । हाल नवनिर्मितसुपा देउराली मन्दिर मोटरबाटोको किनारमा सारिएको हुँदा पवित्र माटोको विभूत निधारमा   लगाउने प्रचलन लुप्त हुँदै गएको छ । तसर्थ सुपा देउराली मन्दिर संरक्षण समितिले पवित्र माटोको विभूत जम्मा गरेर श्रद्धालु भक्तहरूलाई मन्दिर मै उपलब्ध गराउन सके परम्पराको निरन्तरता कायम हुने थियो ।

मन्दिरको आसपासको प्राकृतिक वातावरण संरक्षण पनि महत्त्वपूर्ण चुनौती भएको छ । तीर्थयात्रीको चाप बढ्दै गएको र मन्दिर वरपर  व्यापारिक भवन एवं होटेल निर्माणको गति पनि बढ्दै गएको हुँदा वातावरण प्रदूषणको खतरा बढ्न थालेको छ । तसर्थ वेलैमा प्राकृतिक वातावरण संरक्षणका साथै फोहर व्यवस्थापनमा नगरपालिकाका र संरक्षण समितिले विशेष ध्यान दिनुपर्ने वेला भइसकेको छ ।

सितखोलाको पवित्रा कायम राख्न नरपानी र खाँचीदेखि ढल र फोहर नदीमा फाल्न रोक लगाउनु आवश्यक भएको छ । पुण्यसलिला सितखोलामात्रीर्थयात्री भक्तहरूलाई स्नान गरेर देउरालीमा पूजा गर्न अनुकूल संरचना निर्माण गरी पुण्य आर्जनको वातावरण बनाउनु उपयुक्त हुने देखिन्छ । नदीको किनारमा स्नानको लागि पोखरी र नदीदेखि मन्दिरसम्म आवतजावत गर्न वातावरणमा प्रतिकूल असर नपर्ने गरी सिँढी निर्माण गरेमा तीर्थयात्रीलाई सुविधा पुग्नका साथै यसको धार्मिक महत्त्व प्रकाशमा ल्याउन सहयोग पुग्नेछ  । यसको पवित्रता कायम राख्न नदीमा ढल हाल्न र फोहर फाल्न रोक लगाउनका साथै नगरपालिकाबाट दाहसंस्कारका लागि निश्चित ठाउँमा घाट व्यवस्थित गर्न पनि आवश्यक भएको छ । साथै सुपा देउरालीको धार्मिक र प्राकृतिक वातावरण संरक्षणमा यस क्षेत्रमा बसोबास गर्ने हरेक व्यक्ति, यात्री र तीर्थयात्रीसमेतले जिम्मेवारी र दायित्व बोध गर्नुपर्छ ।

सन्धिखर्क नगरपालिकामा पर्ने नरपानी र खाँचीमा  खानीबाट चुनढुङ्गा निकाल्ने कार्य सञ्चालन भएको छ । खानी सञ्चालन गर्दा वातावरण संरक्षणलाई विशेष ध्यान दिनु आवश्यक छ । धार्मिक क्षेत्रमा नकारात्मक प्रभाव पार्न कार्य वेलैमा रोक्नु पर्छ । खानीबाट वातावरणमा ठूलो क्षति हुन नदिन वृक्ष रोप्ने तथा पुष्पोद्यान बनाउने पर्छ । यो सितखोलाको जलाधार क्षेत्र भएकाले जलाधारमा प्रतिकूल असर पर्न नदिन पोखरीहरू निर्माण गर्नुपर्छ ।

तीर्थयात्रीका सवारी साधन पार्किङ्गको समस्या सिर्जना भएको छ । उत्तर र दक्षिणतर्फ दुई ठाउँमा व्यवस्थित पुष्प उद्यानसहितका पार्किङ्ग स्थल निर्माण गर्न आवश्यक भएको छ ।

 

निष्कर्ष

सुपादेराली देवीको सिद्ध शक्तिपीठ हो । यो पीठ रहेको क्षेत्र तपोभूमि मानिन्छ । सुपा देउराली देवीका श्रद्धाभक्तिपूर्वक  दर्शन र पूजा गरेमा मनोकामना सिद्ध हुन्छ । तीर्थयात्रामा सुपा देउराली जाऔं, पुण्य आर्जन गरौं, मनोकामना सिद्ध गरौं, जीवन सार्थक बनाऔं । सुपा देउराली देवीको अनुकम्पाबाट सबैको कल्याण हुनेछ ।

सन्दर्भग्रन्थ सूची

आत्रेय, विष्णुराज, (२०७४), सोमतीर्थ र सुपा देउराली (ऐतिहासिक तथा पौराणिक पृष्ठभूमिमा उपन्यास), अर्घाखाँची: सुपा देउराली मन्दिर संरक्षण समिति ।

वेदव्यास, वाराहपुराणम्,(सन् १९८२) द्वितीय सं., हृषीकेश शास्त्री (सं.), वाराणसी: चौखम्बाअमरभारती ।

सुवेदी, राजाराम उपाध्याय (२०६१), “अर्घाखाँचीको मध्यकालीन इतिहास”,  होमनाथ भट्टराई आदि (सं.), चिनारी, काठमाडौं: अर्घाखाँची सम्पर्क सदन ।

सुवेदी, राजाराम उपाध्याय (२०७३), “खाँचीका राजा र सुपाकी देउराली”, माधवराज गौतम आदि (सं.), चिनारी, काठमाडौं: अर्घाखाँची सम्पर्क सदन ।

सूचना विभाग, (२०३१), मेचीदेखि महाकाली भाग ३, पश्चिमाञ्चल विकास क्षेत्र, काठमाडौं:श्री ५ को सरकार,सञ्चार मन्त्रालय, सूचना विभाग ।

 

 

[1]सोमेशाद्पूर्वदिग्भागेरावणस्यतपोवनम् ।                                                                                                                                                                           यत्र स्थित्वात्रिरात्रेण तपस: फलमस्नुते ।। ६४।।                                                                                                                                                      यत्र नृत्येनदेवेशस्तुष्टस्तस्मैवरंददौ ।तेनरावणनृत्येनप्रख्यातो नर्तनाचल : ।।६५।।

[2]सोमेशाद् दक्षिणे भागे वाणेनाद्रिंविभिद्यवै । रावणेनप्रकटिताजलधारातिपुण्यदा ।वाणगङ्गेतिविख्याता या स्नाताअघहारिणी ।। ६३ ।।स्नात्वातुवाणगङ्गायांदृष्ट्वावाणेश्वरंविभुम् ।गङ्गास्नानफलं प्राप्य मोदतेदेववद्दिवि ।। ६६।।