राप्रपा लुम्बिनी प्रदेशको महाधिवेशन बैशाख १५ मा

240

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशको अधिवेशन आगामी बैशाख १५ गते बुटवलमा हुने भएको छ । बुधबार बुटवलमा बसेको राप्रपा लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । अधिवेशनका लागि १५१ जना रहेको प्रदेश अधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरिएको छ ।

प्रदेश कार्यसमितिका अध्यक्ष प्रदिपकुमार उदयको अध्यक्षतामा सम्पन्न उक्त बैठकले पार्टीको हरेक तहमा संगठनको संरचना तयार गर्ने तथा आसन्न पार्टीको महाधिवेशनमा हरेक जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश क्षेत्र, नगरपालिका र गाउँपालिकाबाट निर्धारित महाधिवेशन प्रतिनिधिहरु पूर्ण रुपमा ल्याउने निर्णय समेत गरेको छ ।
बैठकले सबै भातृ संगठनको कम्तिमा जिल्ला समिति निर्माण गर्ने र सो को प्रगति विवरण अर्को बैठकमा पेश गर्ने तथा लुम्विनी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले लुम्विनी प्रदेश अध्यक्षद्वारा प्रस्तुत समसामयिक राजनीति एवं सांगठनिक अवस्थाबारे प्रस्तुत प्रतिवेदन पारित गर्नुका साथै गौहत्या, गौ तस्करी, भ्रष्टाचार विरूद्व निरन्तर अभियान चलाउने, राजमार्गमा हुने गाई गोरुको तस्करी नियन्त्रण गर्न, कारबाहीका लागि प्रशासनिक समन्वय गर्न पार्टीको तर्फबाट जिल्लामा आवश्यक संरचना निर्माण गर्ने निर्णय समेत गरेको केन्द्रीय सदस्य नविन पौडेलले हिन्दुखबरलाई जानकारि दिनुभयो ।