ओली नेतृत्वकाे सरकारसँग सती जान वा लगनगाँठाे बाँध्न सक्दैनाैंः जसपा अध्यक्ष यादव

201

बुटवल, चैत १३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारमा जनता समाजवादी पार्टी जानै नसक्ने पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । उनले ओली नेतृत्वकाे सरकार संघिय लाेकतान्त्रिक गणतन्त्र विराेधी भएकाे ठहर जसपाले गरेकाे भन्दै सरकारमा सामेल हुन नसक्ने स्पष्ट पारे ।

शुक्रबार बुटवल प्रेस मञ्च नेपालले गरेकाे पत्रकार भेटघाट कार्यक्रममा जसपा अध्यक्ष यादवले अहिलेकाे सरकारसँग सती जान पनि नसक्ने र कुनै लगनगाँठाे पनि नबाँध्ने बताए । अध्यक्ष यादव भन्छन्, सरकारले संसदलाइ काम बिहिन बनाएकाे छ । कुनै विजनेश दिएकाे छैन । संसद असफल बनाउने खेलमा लागेकाे छ । जुन सरकारले संसदलाइ नै भंग बनायाे याे सरकार फेरी संसद विघटन गर्न लागि परेकाे छ ।

‘रेशम चौधरीको रिहाइ भनेकाे राजबन्दी सम्बन्धि मुद्दा हाे, चाैधरीकाे रिहाइ हुनुपर्छ तर सरकारले उहाँकाे रिहाइलाइ सत्ता साझेदारीकाे रूपमा व्याख्या गरेर भ्रम सिर्जना गरेकाे छ । जसपा उक्त मुद्दालाइ सत्ताकाे भर्याङ बनाउँदैन, यादवले भने, ‘राजनीतिक अभियाेग र राजनीति फरक कुरा हाे ।’

पछिल्लो समय सत्ता समीकरणबारे जसपाभित्र पनि विवाद देखिएको छ । गत बिहीबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले बिनासर्त ओलीको विकल्पमा तीन दलको गठबन्धन सरकार बनाउने प्रस्तावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी गरेका थिए । प्रतिवेदनमा कांग्रेस, माओवादी र जसपामध्ये समझदारीमा सरकारको नेतृत्व गर्ने विषय थियो । बैठकमा प्रस्तुत गर्नुअघि उक्त प्रतिवेदन पाँच सदस्यीय पदाधिकारी बैठकमै विवाद भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक रोकिएको थियो । ठाकुर र महतोले यादवको प्रतिवेदन अपरिपक्व भएको बताएका थिए ।