अर्घाखाँची, १४ चैत । नेकपाका एमालेका जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेशका सांसद चेतनारायण आचार्यले नेकपा एमालेको नाममा समानान्तर कमिटी निर्माण गरेमा कारवाही गरिने चेतावनी दिनुभएको छ ।

सन्धिखर्क नगरपालिका अन्तर्गतका पार्टी जिल्ला अधिवेशन आयोजक कमिटीका सदस्यहरूको सपथ ग्रहण कार्यक्रमलाई मदन-आश्रित स्मृति भवन सन्धिखर्कमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले एमाले पार्टीको नाम र चुनाव चिन्ह प्रयोग गरेर छुट्टै भेला गर्ने अधिकार कसैलाई नरहेको भन्दै त्यसो गरेको पाइएमा साधारण सदस्य समेत नरहने गरि कारवाही गरिने बताउनुभयो ।

उहाँले जिल्ला कमिटीमा रहेका छ जना व्यक्तिले पार्टीको विधि, पद्धति विपरित गतिविधि गरेको भन्दै सच्चिएर पार्टी काममा लागे आफूहरूले ढोका खुला राखेको बताउनुभयो । उहाँले निर्वाचनको बेला पार्टीका उम्मेदवारलाई अन्तरघात गरि हराउने व्यक्तिहरूले अहिले बाहिर बसेर अवाञ्छित क्रियाकलाप गरिरहेको बताउनुभयो ।

आचार्यले जिल्ला एमालेमय बनेको भन्दै अब एमालेको जित र सफलतालाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो । माओवादी केन्द्रबाट आएका नेता कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गर्दा माधव नेपाल समूहले चर्को विरोध गर्न खोज्नु आपत्तिजनक भएको बताउनुभयो । उहाँले संगठन निर्माण गर्दै पार्टी काममा जुट्न अधिवेशन आयोजक कमिटीका सदस्यहरूलाई निर्देशन दिनुभयो । उहाँले केपि ओलीले अघि सारेको विकास र समृद्धिका योजना र राष्ट्रियताको अडानले पार्टीको गरिमा उच्च हुन पुगेको बताउनुभयो ।

जिल्ला सचिव तोजबहादुर रायमाझीले एमाले पार्टी प्रतिको आकर्षण बढ्दै गइसकेको भन्दै अब माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नेहरूको लहर चल्ने बताउनुभयो । उहाँले माधव नेपाल समूहले पार्टीलाई कमजोर बनाउन विभिन्न खाले भ्रमहरू सिर्जना गरेको भन्दै भ्रमका पछि नलागि संगठन सुदृढीकरणमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला अधिवेशन आयोजक कमिटी सचिवालय सदस्यहरू बुद्धिराम भुसाल, केवि भुसाल, रामबहादुर रायमाझी क, रामबहादुर रायमाझी ख, रामचन्द्र पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । जनसांस्कृतिक महासंघका बलबहादुर रायमाझीले सांगीतिक प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा सबै वडाका अध्यक्षले वडाको बारेमा रिपोर्टिङ गरेका थिए ।

कार्यक्रम नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता, नगर इन्चार्ज युवराज श्रेष्ठको स्वागत मन्तव्य र नगर सचिव शिव अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।