माओवादीबाट एमाले प्रवेश गरेका आठ नेतालाई जिम्मेवारी

171

काठमाडौं । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २३ मध्ये आठ नेतालाई केपी ओली पक्षले पार्टीका विभिन्न प्रदेश र विभागमा जिम्मेवारी दिएको छ । सर्वोच्च अदालतले २३ फागुनमा एकीकृत पार्टी नेकपा अवैधानिक रहेको फैसला गरेपछि बसेका ओली पक्षका विभिन्न कमिटीका बैठकपछि जारी अन्तरपार्टी निर्देशन ९अपानि०मार्फत माओवादीबाट प्रवेश गरेका नेताहरूको जिम्मेवारी तोकिएको छ ।

अन्तरपार्टी निर्देशनमा पार्टी एकता भंग भएपछि माओवादी केन्द्रबाट प्रवेश गरेका २३ जनासहित दुई सय ६४ जना राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका नाम विभिन्न कमिटीमा पठाइएको छ । एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि एमालेमा लागेका माओवादी केन्द्रका २३ मध्ये आठजनाको जिम्मेवारी प्रदेश र विभागमा तोकिएको छ । जसमध्ये दुईजनालाई प्रदेश इन्चार्ज, चारजनालाई प्रदेश सहइन्चार्ज र एकजनालाई प्रदेश अध्यक्ष तथा एकजनालाई जनवर्गीय संगठनको जिम्मेवारी दिइएको छ ।

एमालेले रामबहादुर थापालाई बागमती प्रदेश इन्चार्ज, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । त्यस्तै सहइन्चार्जमा टंक आङबुहाङलाई प्रदेश नम्बर १, मणि थापा र गिरिधारीलाल न्यौपानेलाई लुम्बिनी प्रदेश, लिलबहादुर थापालाई गण्डकीको जिम्मेवारी दिइएको छ । त्यस्तै, प्रभु साहलाई प्रदेश नम्बर २ को अध्यक्षको जिम्मेवारीमा राखिएको छ । टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको जिम्मेवारी दिइएको छ ।

अन्तरपार्टी निर्देशनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई आयोजक कमिटीमा यथावत् राखिए पनि कुनै जिम्मेवारी तोकिएको छैन । उनीहरू पहिले नै प्रचण्डसँग मिलेर अर्को पार्टी बनाइसकेकाले तत्कालीन अवस्थामा काम अघि बढाउन यो जिम्मेवारी तय गरिएको निर्देशनमा उल्लेख छ । तत्कालका लागि दिइएको कार्यविभाजनमा नेपाल र खनाल पक्षले विनासर्त पार्टीमा रहन चाहेको अवस्थामा जिम्मेवारी हेरफेर हुने बताइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।