काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने घोषणा गरेका छन्। ‘सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन ? यो किन गरिएन ? त्यो किन गरिएन भनेर धुम मच्चाइयो’, काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘गत बजेटमै बढायौं। सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रै काम गर्यौं।’
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति हुन सक्ने बताए। ‘अब कसैलाई आपत्ति लाग्ला। बूढाबूढी पनि हेर्न थाल्यो, अपांग हेर्न थाल्यो। यो सरकार छिटो हटाउनुपर्यो। मान्छेहरूलाई भरैबाट यो छटपटी हुन्छ। निद्रा लाग्दैन’, ओलीले भने।
उनले देशमा विकास तीव्ररूपमा भइरहेको उल्लेख गर्दै दैनिक १० किलोमिटर सडक बनिरहेको दाबी गरे। हुम्लाबाहेक सबै जिल्ला सदरमुकाममा सडक पुगिसकेको उनले सुनाए। हुम्ला सदरमुकामलाई छिट्टै सडक सञ्जालले छुने जानकारी उनले दिए। उनले प्रत्येक स्थानीय तहको केन्द्रमा पक्की सडक विस्तार गर्ने अभियान थालिएको बताए।
उनले कोरोनाविरुद्धको खोप सम्पूर्ण जनतालाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याए। ‘सरकारले निःशुल्क पीसीआर परीक्षण गरायो, कोरोनाको उपचार गरिरहेको छ। सम्पूर्ण जनतालाई निःशुल्क खोप उपलब्ध गराउने भनेर घोषणा पनि गरिसकेको छ’, उनले भने।
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उल्टापाल्टा कुरा नगर्न आग्रह गरे। पार्टी एकताकै बेकारको कुरा डबलीमा गर्दै हिँडेको उनको भनाइ थियो। अन्नपुर्ण पोष्टमा समाचार प्रकाशित छ ।