कोरोनाको ‘हट स्पट’ बन्दै शैक्षिक संस्था

159

काठमाडौं । गत साता पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएको छ । सहायक क्याम्पसप्रमुख गोपालप्रसाद घिमिरेका अनुसार संक्रमण देखिएका करिब ८० विद्यार्थी अहिले क्वारेन्टिनमा छन् । बिई चौथो वर्षको परीक्षा सञ्चालन भइरहेको छ । संक्रमित विद्यार्थीलाई छुट्टै कोठामा स्वास्थ्य मापदण्ड अपनाएर सहभागी गराइएको छ ।

काठमाडौंस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजका चार शिक्षक, चार विद्यार्थी र दुई कर्मचारीमा संक्रमण देखिएपछि १३ चैतदेखि पाँच दिन कलेज बन्द गरिएको थियो । यहीबीचमा वातावरण प्रदूषणका कारण सरकारले मंगलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि कलेज बिदाको समय थपिएको छ । आइतबारदेखि अनलाइन र भौतिक दुवै विधिबाट कक्षा सञ्चालन गर्ने कलेज प्रशासनको तयारी छ ।

भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयले कक्षा १०, ११ र १२ को भौतिक रूपमै कक्षा सञ्चालन गरिरहेको थियो । तर, दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि पढाइ प्रभावित भएको छ । सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार कर्मचारीमा संक्रमण देखिएपछि अहिले अनलाइनबाट कक्षा सञ्चालन भइरहेको छ ।

यी प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय शैक्षिक संस्थाहरू कोरोना संक्रमणको केन्द्र बन्ने जोखिम बढ्दै गएको छ । ६ चैतयताका १३ दिनमा १९ वर्षमुनिका एक सय ४२ बालबालिकामा संक्रमण देखिएको छ । उनीहरू सबै विद्यार्थी भएको स्वास्थ्य मन्त्रालयको अनुमान छ । यही अवधिमा चार शिक्षकमा पनि संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार दुईदेखि नौ वर्षका १९ बालबालिका, १० देखि १४ वर्ष उमेरका १९ र १५ देखि १८ वर्ष उमेर समूहका एक सय ६ बालबालिकामा संक्रमण देखिएको छ । संक्रमित शिक्षक ४७, ३८, ३६ र ४८ वर्षका छन् । कतिपय संक्रमितले पेसा नखुलाएका कारण संक्रमित हुने शिक्षकको संख्या अझ धेरै हुन सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ । पछिल्ला १३ दिनमा देशभर एक हजार पाँच सय ८४ संक्रमित देखिएका छन् ।

धेरै शैक्षिक संस्थाले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । स्यानिटाइजर नराख्ने, हात धुने व्यवस्था नगर्ने, मास्क नलगाउने र भौतिक दूरीसमेत कायम नगर्दा शिक्षण संस्थामा संक्रमणको जोखिम उच्च बनेको सरोकारवालाहरूको भनाइ छ । केही शैक्षिक संस्थाहरूले विद्यार्थी र शिक्षकलगायतका कर्मचारीमा लक्षण देखिँदा पनि लुकाउने गरेको उनीहरूको गुनासो छ ।

कोरोनाको दोस्रो लहरको जोखिम शैक्षिक संस्थाबाट धेरै हुने स्वास्थ्य मन्त्रालयको विश्लेषण छ । ‘पछिल्ला दिनमा शैक्षिक संस्थाहरू संक्रमणको केन्द्र बन्न थालेका छन् । धेरै शैक्षिक संस्थामा मास्क लगाउने, हात धुने चलन भए पनि तिनको कार्यान्वयन पक्ष ज्यादै फितलो हुँदा समस्या बढी देखिन थालेको छ,’ मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘कोरोना संक्रमित बिस्तारै उकालो लाग्दा स्वास्थ्य मन्त्रालय चिन्तित बनेको छ ।’ आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।