पत्रकार महासंघमा दलीय प्रभाव पर्न दिन्न: विपुल पोखरेल

311

काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल ९औपचारिक रुपमा घोषणा हुन बाँकी० ले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका छन् ।

शनिबार सबै जिल्लाको मतगणना सकिएको र आफ्नो जित सुनिश्चित भएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनैपनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताएका हुन् । यस्तै श्रमजीवी पत्रकारहरुको हक हितका मुद्दाहरूलाई अगाडी लैजाने सम्बन्धमा आफूले कहीं कतै सम्झौता नगर्ने प्रतिवद्धता पनि जनाए ।

यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिवद्धता जनाए । महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताए ।

महासंघको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो । चुनावमा १३ हजार बढी मतदाता थिए । निर्वाचन समितिका अनुसार ९५ प्रतिशत मत खसेको थियो । अध्यक्षमा पोखरेल विजयी हुँदा उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा बाला अधिकारी र समावेसी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् ।

रोशन पुरी महासंघको महासचिव बनेका छन् भने गोविन्दप्रसाद चौलागाई खुला सचिव बनेका छन् । महिला सचिवमा सिर्जना अर्याल निर्वाचित भएकी छन् भने आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु विजयी भएका छन् । मधेसी सचिवमा दीपेन्द्र चौहान विजयी हुँदा दलित सचिव हेमकर्ण विक बनेका छन् । एशोसिएट सचिव पवन आचार्य बनेका छन् ।

चैत २५ गते भएको मतदानको मतगणना शनिबार सकिएको हो । मतगणना सकिए पनि केही जिल्लाको मत आउन बाँकी हुँदा निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।

कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् भने लेखनाथ न्यौपाने लेखा समिति संयोजक बनेका छन् ।

महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारी सहित ११ सङ्गठनको तर्फबाट रहेको थियो ।

अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जन पत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो । त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए।