कोरोनाले कसरी बदल्यो मान्छेको जीवनशैली ?

171

एउटा प्रचलित भनाई छ, ‘विपत्तिहरु दुःख र कष्ट मात्र बोकेर आएको हुँदैन । हामीभित्रको शक्ति एवं सामर्थ्य निकाल्न पनि आउँछ ।’ कोरोना महामारी यसको मिल्दो दृष्टान्त हो । कोरोना महामारीले विश्वकै मानव समुदायलाई आच्छु–आच्छु बनायो । कतिको ज्यान लग्यो, कतिलाई अस्पतालको शैयामा पु¥यायो । यसले शारीरिक, मानसिक मात्र होइन, सामाजिक जीवन पनि नराम्ररी प्रभावित बनाइदियो । तर, त्यही कोरोना महामारी, जसले विश्व समुदायलाई स्वास्थ्य-सचेतनाको अमूल्य पाठ पनि सिकाइदियो । कसरी स्वस्थ्य रहने ? कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने ? कसरी सजगता अपनाउने ? यावत् कुराको व्यवहारिक ज्ञान सिकाइदियो । त्यससँगै सामाजिक जीवनको मूल्य बोध गराइदियो । व्यवहारिक जीवनका स-सना कुराहरु कति उपयोगी र महत्वपूर्ण छ भनेर सिकायो । वर्ष २०७७ आफैमा विपत्तीको बर्ष थियो । तर, यसले केही राम्रा शिक्षा पनि दिए । यसै सेरोफेरोमा हामीले कोरोना महामारीपछि बद्लिएको जीवनशैलीबारे समीक्षा गरेका छौं ।

आजभन्दा ठीक एक वर्षअघि र अहिलेमा हामीमा कति फरक आएको छ ? बीचको यो एक वर्षे अवधिमा हामीले के सिक्यौं र कति बदलियौं ? भन्नेबारेमा फर्किएर हेर्ने हो भने हामीलाई यो वर्षले धेरै सिकायो तर हामीले सिकेका सबै कुरा कार्यान्वयन गर्न नसक्दा हामीमा त्यस्तो तात्विक परिवर्तन भने आएको पाइँदैन ।

कोभिडमय वर्ष २०७७ लाई बिदा गरेर अर्काे नयाँ वर्षमा प्रवेश गर्दैगर्दा हामीले अवसरको सदुपयोग गर्न नसकेकोप्रति आफैँलाई धिक्कार्नेबाहेक हामीले केही पनि गर्न सकेका छैनौं । २०७७ सुरुवात आफैँमा निकै कहालीलाग्दो थियो । त्यो घनघोर संकटले कसलाई कहाँ लैजान्छ भन्ने यकिन थिएन । लकडाउन थियो, कोही बाहिर निस्किएका थिएनन् । बाहिर सर्वत्र हरियाली थियो । बाहिरी जनजीवन अस्तव्यस्त भए पनि यसले मान्छेलाई एउटा नयाँ भोगाइले छुट्टै खाले ज्ञानको परिधि खडा गरेको थियो । यो वर्ष त्रासदीपूर्ण रुपमा नै बित्यो । त्रासदीकाबीच हामीलाई लकडाउनले २०७७ मा कति ज्ञान दियो ?

वर्षको सुरुवात र अन्त्यबीचको तुलना

२०७७ सालको सुरुवाती दिन र वर्षलाई बिदाइ गर्दैगर्दाको अन्तिम दिनलाई तुलना गर्दा हामीले सिकेको ज्ञानलाई रत्तिभर पनि व्यावहारमा उतार्न नसकेको देखिन्छ । वर्षको सुरुवातमा चिल्लो र दायाँबायाँ हरियालीले छोपेको काठमाडौं यतिबेला विश्वकै सबैभन्दा दुर्गन्धित शहरमा परिणत भएको छ । त्यतिबेला सामाजिक सञ्जालमा गर्वका साथ राखिने सडकका दृश्यहरु अहिले कुरुप देखिन थालिसकेका छन् । त्यतिबेला आफूलाई घरमा नै पौरखी देखाउन कौसीमा तरकारी र फलफूल रोपेर सामाजिक सञ्जाल रङ्गयाउनेहरू अहिले आयातित तरकारीको स्वादमा रमाउन थालिसकेका छन् । हामीले सिकेको ज्ञान आखिर केमा लागू भयो त पूर्ण रूपमा ?

कोरोना महामारी र लकडाउनका कारण बाहिर चौतर्फी छाएको सन्नाटाले हामीले धेरै अर्थमा व्यावहारिक बनायो । हामीमा स्वास्थ्य सचेतना बढ्यो, हामी प्रविधिलाई पराया सम्पत्ति ठान्नेहरु अनलाइन कक्षा र डिजिटल पेमेन्टमा अभ्यस्त भयौं । समग्रमा भन्दा हामीले लामो समयसम्म पनि राम्रोसँग सिक्न नसक्ने धेरै ज्ञान २०७७ सालमा सिक्न सक्यौं, तर कार्यान्वयन पक्ष ? कार्यान्वयन पक्ष निकै फितलो बन्न पुगेको छ ।

२०७७ सालको नयाँ वर्ष घर जान लामो पैदलयात्राको सुरुवात गर्नेहरु, परनिर्भरता भुलेर आत्मनिर्भरताको अध्याय सुरु गर्नहरु र एउटा अनौठो अनुभूतिबाट नयाँ पाठ सक्निेहरुको अनुभवसँगै सुरु भएको थियो । कथाले अर्काे मोडलिएसँगै हामीले सिकेका अनुभूतिका पाठहरु त बदलिन थालिसकेको छ । २०७७ सालले हामीलाई केही न केही परिवर्तन भने ल्याएको छ जसलाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ ।

 

१. स्वास्थ्य सचेतना

२०७७ साल मानव स्वास्थ्यको लागि सुखद् त कुनैपनि कोणबाट रहेन । तर स्वास्थ्य सचेतनाको हिसाबमा हेर्ने हो भने यो वर्ष धेरै मान्छेले स्वास्थ्यको बारेमा सचेत भएको पाइन्छ । नियमित हात धुने, अनिवार्य मास्क लगाउने, अनावश्यक मान्छेसँग नजिक नभएर सामाजिक दुरी कायम राख्ने जस्ता विषयको बारेमा धेरैलाई जानकारी मिल्यो । तर बिडम्बना कोरोनाको समस्या अलिक सुस्त भएसँगै हामीले यसलाई भुल्दै गयौं । त्यो बिडम्बनाले भने हामीलाई समस्या गराइरहेको छ ।

हामीले अत्याधुनिक औषधि बनाउन सकेनौं । तर चिराइँतो र पाँच औंलेको प्रयोगबाट ज्वरो भगाउने परम्परागत चिकित्सा ज्ञानको बारेमा भने हामीहरु फेरि एकपटक सचेत भयौं ।

२.आत्मनिर्भरतातिर प्रोत्साहन

कोरोना कालमा हामीहरु भान्सादेखि कोरोनाविरुद्ध लड्ने अस्पतालसम्म पनि आत्मनिर्भरताको लहर लिएर गयौं । कोरोना बढ्दै गए पनि बजारमा मास्कको अभाव थियो । बाहिरबाट मास्क आयात बन्द भएपछि हामी आफैँले मास्क उत्पादन सुरु गर्न थाल्यौं । पीपीईको अभाव भयो पीपीई बनाउन थाल्यौं । यति मात्र होइन कि राष्ट्रिय आविस्कार केन्द्रले भेन्टिलेटर समेत तयार पारेर निःशुल्क बाँड्न थाल्यो ।

यसबाहेक घरेलु आवश्यकतामा पनि हामीले धेरै हदसम्म आत्मनिर्भरताको बाटो खोज्यौं । कोरोना प्रकोपका कारण भएको लकडाउनको समय धेरैले घरमा नै बसेर बिताए । घरमा बस्दा घरमा नै रहेको सामानलाई कसरी प्रयोग गर्ने र त्यसबाट के उत्पादन गर्ने ? भन्ने सोचको विकास भयो । भलै यो लकडाउन हटेसँगै धेरैले प्रयोगविहीन बनाइसकेका छन् । तर घरमै कौसीखेती मार्फत् तरकारीको उत्पादन, खेर गएका सामानको उपयोगबाट नयाँ खाले वस्तुको निर्माण गर्ने जस्ता सिर्जनशील सोचको विकास २०७७ ले गरेको छ । यही वर्ष धेरैले आफ्नै घरमा आफैँले उत्पादन गरेको तरकारी खाए, धेरैले आफ्नो घरमा नै हरियाली बनाए । यो २०७७ सालले सिकाएको एउटा पाठ पनि हो । खोस्टाबाट चकटी बनाउने, बाँसबाट नाङ्लो बनाउने जस्ता सिर्जनशील कामको सिकाइको लागि यो वर्ष प्रभावकारी भयो ।

आत्मनिर्भरताको पाठ हामीले २०७२ सालमा भारतले गरेको नाकाबन्दीको समयमा पनि सिकेका थियौं । तर त्यो लामो समयसम्म टिक्न सकेन । त्यही रीतले कोरोनाका कारण आएको आत्मनिर्भरताको लहर पनि लामो समय टिक्न सकने ।

प्रविधिमा अभ्यस्त

कुनै समय अनलाइन कक्षाको बारेमा कुरा गर्दा पनि अनावश्यक विषय सम्झिने हामीहरुलाई यही वर्षले प्रविधिप्रति सचेत बनायो । हामी अनलाइनबाटै बैठक बस्न थाल्यौं । कारोबार गर्दा धेरैले डिजिटल कारोबार गर्न थाल्यौं । प्रविधिको विकासमा त यो एक वर्षले झण्डै आधा दशकमा पनि भेट्न नसक्ने प्रगति भेटेको छ ।

पौष्टिक आहार र इम्युनिटी पावरबारेको बुझाइ

२०७७ सालले पौष्टिक आहारको उपयोगिता र शरीरमा रहेको इम्युनिटी पावरको बारेमा पनि राम्रो ज्ञान दिएको छ । पौष्टिक आहार के–को लागि हो ? यो कति प्रभावकारी छ ? भन्ने विषयमा पनि यो वर्ष धेरैले जानकारी पाए । अर्काेतर्फ रोग प्रतिरोधी क्षमताको विकास पहिलेदेखि नै किन गराउनु पर्छ र त्यसको लागि कस्ता खानेकुरा खाने भन्ने बारेमा पनि यो वर्ष धेरै सिक्ने अवसर मिल्यो ।

एकान्तवासको वैज्ञानिकता

एकान्तवास पहिलेदेखिकै चलन थियो । तर यसको वैज्ञानिक महत्वबारे पुष्टि भएको थिएन । तर कोरोना कालमा एकान्तवास संस्कृतिको वैज्ञानिकता पुष्टि भयो । जुन २०७७ मा धेरै लिइएको शब्द पनि हुन सक्छ । अर्काेतर्फ एकान्तवासमा हुने मानसिक स्वच्छन्दताको फाइदा पनि धेरैले उठाए । जे होस् २०७७ सालले सिकाएको बुँदामा एकान्तवासको महत्वपनि धेरै छ ।

दिगो गतिशीलता

कोरोना कालमा दिगो गतिशीलताको प्रयासहरु पनि भएको छ । यस्ता उत्पादनहरु जसले प्रकृतिलाई हानि नगर्ने होस् । त्यस्ता उत्पादनमा पनि धेरैले जोड दिँदै गए ।

कोरोना कालमा धेरैले आफ्नो मोडर चलाउन नपाएपछि साइकल चढ्न थाले । प्रकृतिमैत्री कपडा र प्रांगारिक खानाको लहर नै छायो । कुनैबेला गरिबको साधन भनेर चिनिने साइकलमा यात्रा गर्नेहरु लकडाउनकै समयमा बढे । सार्वजनिक यातायातभन्दा सम्भव भएसम्म पैदल र नभए साइकलमा यात्रा गर्नेको संख्या बढ्यो । तर कोरोनाको महामारी कम भएसँगै यो पनि कम हुँदै गयो ।

जीविकोपार्जनको नयाँ कलाको सिकाइ

कोरोना महामारीले जीविकोपार्जनको नयाँ कला सिकाएको छ । यो समयमा धेरैको रोजगारी गुम्यो । त्यस्तो अवस्थामा कसरी व्यवस्थापन गरेर जीविकोपार्जन गर्न सकिन्छ ? भन्ने कला पनि लकडाउनले सिकाएको छ । खानाको भण्डारण गर्ने, फजुल खर्च नगर्ने र रैथाने एवं पुराना चिजको सदुपयोग गर्ने कला पनि २०७७ मा लकडाउनले सिकाएको छ । ब्राण्डेड कपडामा खर्च गर्नेहरु निर्वाहमुखी बन्न थाले ।

आत्मसाथ गर्न नसकिएको अवसर

पछिल्ला केही दशकमा काठमाडौंले सुन्दरताको घुम्टो कुनै वर्ष ओढ्यो भने त्यो यही २०७७ साल हुन सक्छ । सुन्दरतासँगै सफा र फराकिला सडकको बारेमा दुईथरी मत पनि आए । धेरै जसो विषयगत विज्ञ र नीति निर्मातालेसमेत हतारमा सुन्दरताको बयान गर्दै यो बाटो हाम्रो लकडाउनको ठूलो सफलताको रुपमा ब्याख्या गरेका छन् । तर त्यतिबेलै पनि दिगो विकासको खोजी गरिएन । जसका कारण त्यो अवसर हामीले गुमायौं ।

त्यतिबेला सुन्दर देखिएका बाटाहरु बढीभन्दा बढीमा ६ महिना देखिए । तर जब लकडाउन खुल्यो अवस्था फेरि पुरानै । स्वास्थ्य सचेतना होस् वा दिगो गतिशीलताको विषय नै किन नहोस् । सबै पुरानै अवस्थामा पुगे ।

स्थानीय तहमा रहेको परम्परागत प्रविधि र नयाँ अन्वेषणलाई जोडेर समय-सापेक्ष जनशक्ति तयार पार्नुपर्नेमा अस्थायी सुन्दरतामा रमेर एउटा महत्वपूर्ण अवसर हामीले गुमाउन पुग्यौं ।

यतिबेला कोरोनाको महामारीका कारण धेरै युवाहरु गाउँ फर्किएका छन् । यही समयमा गाउँपालिकाले युवाहरुलाई गाउँपालिकामा नै सिपको सम्मान हुनेगरी आत्मनिर्भरताको खोजी गर्नुपर्ने थियो । तर त्यो पनि हुन सकेन ।

परिवर्तन गर्न नसकिएको जीवनशैलीको दिगो सुधार

हामीले व्यक्तिगत जीवनशैलीमा परिवर्तन गरेर पनि मुलुकको आत्मनिर्भरता तिर ध्यान दिनुपर्ने थियो । जसमा घरमा सौर्य प्यानलको विकास, साइकलमा यात्रा गर्ने, रिसाइक्लिङ, जैविक खाद्यवस्तुको उत्पादन र व्यापार आदि थिए ।

अधिकतम उपयोग

आत्मनिर्भरताको लागि सम्भव भएसम्म सबैजसो प्राकृतिक स्रोतहरूको उपयोग गर्नु आवश्यक देखिन्छ । अझ सक्षम र पर्यावरणीय तरिकामा प्रयोग गर्नु झनै आवश्यक छ । हामीले नयाँ टेक्नोलोजीको सुरुवात गर्दा मानवता, परम्परा र संस्कृतिको रक्षातर्फ सावधानी बढाउनु आवश्यक देखिन्छ ।अनलाइनखबरबाट