उर्जामन्त्री रायमाझी द्वारा नयाँ वर्षको शुभकामना

425

काठमाडौँ, १ बैशाख

उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा देश, विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले नववर्षको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, प्रगति, सु–स्वास्थ्य र दीर्घायुको कामना गर्नु भएको छ ।

‘देश विकास र समृद्धिको दिशामा अग्रसर छ’ शुभकामना सन्देशमा लेख्नुभएको छ, ‘सरकारले अघि सारेका लक्ष्यलाई सार्थकता प्रदान गर्न सबै पक्षको सहयोग आवश्यक छ ।’ राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उहाँले ०७८ सालले पछिल्लो राजनीतिक गतिरोधको अन्त्य गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
उहाँले वर्तमान सरकारले दीर्घकालीन महत्वका थुप्रै कामहरू गरेको भन्दै अझै राम्रा कामहरू गर्दै जनताको विश्वास जित्ने बताउनु भएको छ । ‘०७८ सालमा सरकारले गरेका थुप्रै कामको नतिजा देखिने छ’ मन्त्री रायमाझीले लेख्नुभएको छ, ‘०७८ साललाई प्रगतिको वर्ष बनाउने तयारीमा छौं ।’

उहाँले यो वर्ष पर्याप्त मात्रामा विद्युत उत्पादन गरि विद्युत खपत बढाउने योजना तय गर्न लागिएको बताउनु भएको छ । उहाँले पछिल्लो समय फेरी कोरोना भाइरसको जोखिम बढेकाले सचेत रहन सबैलाई आव्हान समेत गर्नु भएको छ ।