मोरङ — कांग्रेस नेता शेखर कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन गराएर संसद्लाई बिजनेस दिनुपर्ने बताएका छन् ।
मोरङ — कांग्रेस नेता शेखर कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन गराएर संसद्लाई बिजनेस दिनुपर्ने बताएका छन् ।
‘संसद्लाई सरकारले बिजनेस दिइरहेको छैन किनकि सरकारलाई संसद्सँग मतलबै छैन,’ उनले भने, ‘संसद् पुन:स्थापना भएदेखि प्रधानमन्त्री केपी शर्मा ओलीजी सदनमा नजानु र सरकारले संसद्लाई बिजनेस नदिएको अवस्थामा सभामुखजीले उपसभामुखको निर्वाचन गराएर बिजनेस दिन सक्नुपर्दैन ?’
संसद्लाई अनिर्णयको बन्दी बनाएर राख्ने सभामुखलाई प्रश्न उठाएर दोषी भन्न नसक्नु संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको कमजोरी भएको कोइरालाको भनाइ थियो ।
‘संसद्को सभामुखजीलाई उपसभामुखको निर्वाचन गराउन कसले रोकेको छ ? कतै माओवादी र एमालेको साँठगाँठ त भइरहेको छैन भन्ने सोच्नु आवश्यक भइसकेको छ किनकि राजनीतिमा सबै कुरा सम्भव छ,’ उनले भने ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिई अन्य दललाई मिलाउन खोज्नु उपयुक्त नभएको कोइरालाको भनाइ थियो । ‘माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ,’ उनले भने, ‘अल्पमतको सरकारले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्छ र त्यो लिन नसकेपछि निर्वाचनमा जान्छ ।’
मुलुकलाई अन्योल र अराजकताको स्थितिबाट निकाल्न लोकतान्त्रिक पार्टी भन्ने कांग्रेस पनि चुकिरहेको कोइरालाको भनाइ थियो । ‘राणाकाल, पञ्चायत काल र त्यसपछिको समयमा प्रोएक्टिभ भएर अघि बढेको कांग्रेस यति वेला किन रियाक्टिभ पनि हुन सकेको छैन ?,’ उनले भने, ‘चुप लागेर बस्ने होइन, देशलाई अन्योल र अनिर्णयको बन्दीबाट निकाल्ने जिम्मेवारी कांग्रेसको हो ।’ कान्तिपुरबाट