सुपादेउरालीमा नयाँ वर्षको दिन भिड्भाड (भिडियो रिपोर्ट)

453

घनश्याम पौडेल
अर्घाखाँची, १ बैशाख । नेपालका १०० धार्मिक तथा पर्यटयिक स्थलमा परेको अर्घाखाँचीको सुपादेउराली मन्दिरमा नयाँ वर्षको दिन निकै भिडभाड भएको छ । पश्चिम नेपालको अर्घाखाँचीमा रहेको सुपादेउराली मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको पाईन्छ । कोरोना भाईरसका कारण लामो समय बन्द रहेको सुपादेउराली मन्दिर सुचारु भएसँगै पुनः भक्तजनको भिडभाड हुन लागेको हो ।

पश्चिम नेपालको प्रदेश नं. ५ को लुम्बिनी पछिको दोस्रो पर्यटक आवागमन बढी हुने स्थान सुपादेउराली मन्दिरमा धार्मिक पर्यटकको संख्या बढेपछि सुपादेउराली मन्दिर महत्वपूर्ण धार्मिक स्थल बनेको छ । कपिलवस्तुको गोरुसिंगेबाट सडकको ४७ किलोमिटर दुरीमा महाभारत प्रर्वत श्रृखलाको ठूला ठूला पहाडको खोचमा अवस्थित प्राचिन शैलीबाट निर्मित मन्दिर प्रसिद्ध धार्मिक तीर्थ स्थल सुपा देउराली मन्दिर अवस्थित छ । नयाँ वर्षको दिन मन्दिरमा करिब १२ हजार भक्तजनहरुले दर्शन गरेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष पृतम थापाले बताउँनुभयो ।

सन्धिखर्क नरपालिकाको वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा नं. २ मा अवस्थित रहेको छ, सुपादेउराली मन्दिर । प्रशिद्ध धार्मिकस्थल झण्डै ४ हजार पाँच सय फिटको उचाईमा अवस्थित छ । सुपादेउराली प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापना कहिले कसरी भयो भन्ने सन्दर्भमा विभिन्न जनश्रुति किम्वदन्तीका आधार र पहरामा लाहुरे टासिएको, भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जातो, आदीका सीलाहरुबाट त्रतोयुग देखि नै त्यहा शक्ति थियो भन्ने मान्न सकिन्छ । मन्दिरमा भकल गरेको कुरा पुरा हुने भएकाले मन्दिरमा भक्तजनको भिडभाड लाग्ने गर्छ ।

मन्दिरको पूनर्निर्माण र बढ्दो विश्वासको कारण आजभोली दैनिक सयौ जोडी परेवा उडाउने तथा बोला बली दिने सयौंको संख्यामा मानिसहरु यस मन्दिरमा भित्रँदै आएका छन् । सुपादेउराली मन्दिरमा औसी, एकादशी, कृष्ण जन्माष्टमी, श्रीपंचमी, महाशिवारात्री, अष्ठ तृतिया, रामनवमी, आदी दिनहरुमा वलिपुजा निषेध गरिएको छ । तर परम्परा देखि बैशाख शुल्क पूर्णीमाको दिनमा कुल पुजा हुने भएकोले बलि चढाउने गरिन्छ ।

आजभन्दा ४०० वर्ष अगाडिको एक जना व्यक्तिले रोजगारीका क्रममा भारत जाँदा मन्दिर अगाडि पुगेर हात जोरी बिन्ती गरेछ–‘हे सुपाकी माई मलाई फौजीमा जागिर मिलाइदेउ यसको बदलामा मैले तिम्रो लागि बाख्राको पाठी चढाउनेछु ।’ यति भनेर भारत छिरेको उसले तत्काल फौजीमै जागिर पाएछ । जागिर पाएपछि उसले देवीका अगाडि गरेको कुरा बिर्सेछ । तीन पटकसम्म मन्दिर अगाडिबाटै ओहोरदोहोर गरेपछि चौथो पटक मन्दिर अगाडिबाटै हिँड्न लाग्दा देवी रिसाएर ढुङ्गे पहरामा उसलाई टाँसेकी हुन् भन्ने विश्वास गरिन्छ । झट्ट सुन्दा यो कुरा अन्धविश्वास जस्तो लागे पनि यसलाई पुष्टि गर्ने आधार ढुङ्गे पहरामा मानिसको छाँया प्रष्टै देख्न सकिन्छ । पहाडी जिल्लामा रहेको मन्दिर वरपरको वातावरणले आन्नदीत सँगै भकल गरेको कुरा पुरा हुने भएकाले मन्दिरमा आएको धार्मिक पर्यटकको भनाई रहेको छ ।

सुपादेउराली मन्दिरमा ट्राफिक व्यस्थापनको लागी पनि निकै चुनौती रहेको थियो । मन्दिर वरपरको वातावरण साघुरो भएतापनि जिल्ला ट्राफिक प्रहरीले व्यवस्थापन गरेको थियो । आज मन्दिरमा करिब १३ सय यातायातका साधन आएतापनि भक्तजनहरुका लागी मन्दिरमा दर्शन गर्नका लागी सहजै व्यवस्थापन मिलाएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रविन आचार्यले बताउँनुभयो ।

सुपादेउराली मन्दिरमा मनकामना पुरा होस भनि भाकल गर्ने तथा विभिन्न जिन्सी सुन, धजा, वस्त्र, रातो फुल, माला चढाउने र पाठा पाठीको वलिपुजा दिने र परेवा उडाइ दिने व्यापक प्रचलन पनि छ । भकलहरु पुरा हुने हुनाले धेरै भक्तजनहरुको देश विदेशबाट घुईचो लाग्ने गर्छ । मन्दिरमा नेपाल सहित भारतबाट पनि भक्तजनहरु आउँने गर्छन । सुपा देउराली मन्दिर र यस वरपरको क्षेत्रको विकासले तिव्रता पाएको छ । मन्दिरमा आउँने भक्तजनहरुलाई थप व्यवस्थापन सँगै पर्यटकिय क्षेत्र बनाउँनका लागी सम्बन्धीत निकायले ध्यान दिनुपर्ने देखिन्छ ।