पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो भारत बसाइलाई सहज बनाएकोमा भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । आइतबार भारत भ्रमणपछि स्वदेश फर्किएका पूर्व राजाले एक विज्ञप्ति जारी गर्दै आभार व्यक्त गरेका हुन् ।
यस्तो छ शाहको विज्ञप्ति
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हार्दिक कृतज्ञता,आभार तथा धन्यवाद बक्स
निरन्जन अखाडाका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीको निमन्त्रणामा हामी पवित्र तीर्थस्थल हरिद्वारमा हरेक १२ बर्षमा सम्पन्न हुने महाकुम्भमेला अनुष्ठानमा सहभागी भएर स्वदेश फर्केका छौँ ।
हाम्रो यो महत्वपूर्ण धार्मिक भ्रमणका क्रममा हरिद्वारमा भएको हाम्रो बिशेष सम्मान, सत्कार र संस्कारयुक्त आदर भावप्रति निरन्जन पीठका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीमा तथा समस्त सन्त महात्माहरूमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ ।
महाकुम्भमा शाही स्नान र गंगा आरतीको बिशेष प्रबन्ध मिलाउन अखाडा परिषदले लिएको दायित्व आफैमा अविस्मरणीय छ। शाही स्नान अवधिमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूको तर्फबाट हामीलाई गरिएको अभिनन्दन र आर्शिवचनका लागि पनि हामी आभार ब्यक्त गर्दछौ ।
हाम्रो भारत बसाइलाई सरल र सहज बनाउने ब्यबस्थाको लागि हामी भारतीय जनता र भारत सरकार प्रति पनि आभार व्यक्त गर्न चाहन्छौ ।
भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कदा बिभिन्न संघसंस्था तथा नेपाली जनसमुदायबाट दर्साइएको स्वागत सम्मानका निम्ति हामी सबै शुभ चिन्तक दाजुभाई दिदीबहिनी प्रति दिलैदेखि आभार प्रकट गर्दै धन्यबाद दिन चाहान्छौँ ।
जय नेपाल ।
मिति : २०७८ बैशाख ६ गते
रातोपाटीबाट