माधव नेपालसहित ८ जना*लाई स्पष्टीकरण सोध्ने निर्णय

136

६ वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जना*लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बसेको बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दुई दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यस्तै फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने एक नेताले जानकारी दिए ।

माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कणर्ालीमा फ्लोर क्रस गरेर अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको भन्दै कारबाही गर्ने बताएका थिए ।

कर्णाली प्रदेशमा एमालेको नेपाल समूहका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गर्दै महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए । उनीहरुकै मतका कारण शाही नेतृत्वको सरकार जोगिएको छ भने फ्लोर क्रस गर्नेमध्ये तीन जना मन्त्री समेत भइसकेका छन् ।

* बैठक चलिरहेका बेला २० जनालाई स्पष्टीकरण सोध्ने सूचना आएको भएपनि ८ जनाबारे मात्र निर्णय भएकाले क्षमायाचनासहित सच्याएका छौं-सं. अनलाइन खबरबाट