नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री दीपक भट्टराईले नेविसंघलाई १० जनामा सीमित पारिएकोमा असन्तुष्टी जनाएका छन्।
नेविसंघको ५२ औं स्थापना दिवसमा काठमाडौंमा आज आयोजित कार्यक्रममा नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण पनि गराएका छन्।
‘नेविसंघ संकुचित अवस्थामा छ। केन्द्रीय समितिमा हजारौं सदस्य राखे पनि काम गरेर नभ्याइने अवस्था छ। तर नेविसंघलाई १० जनामा सीमित बनाइएको छ, यो दुर्भाग्यपूर्ण हो,’ मञ्चमा रहेका देउवातिर हेर्दै भट्टराईले भने।
नेविसंघलाई बुढो बनाउँदै लगिएकोमा उनले असन्तुष्टि जनाए। नेविसंघ विधानमा ३२ वर्ष उमेरहद लागू गर्ने भने पनि कार्यान्वयनमा आएको छैन। अहिले नेविसंघ तदर्थ समितिमा ४५ वर्ष माथिका नेताहरू नेतृत्वमा छन्।
उनले समयमै नेविसंघको महाधिवेशन गर्न नसकिएको पनि बताए।
महाधिवेशन गर्न राजिब ढुंगानाको नेतृत्वमा नेविसंघ तदर्थ समिति गठन गरे पनि उक्त समितिले तोकिएको कार्यकालभित्र महाधिवेशन गर्न नसकेपछि अझै समय बढाइएको छ।
महामन्त्री भट्टराईले नेविसंघलाई पूर्णता दिएपछि महाधिवेशनको काम सुरू हुने बताए। ‘नेविसंघलाई पार्टीले माया गर्ने हो भने केन्द्रीय समितिलाई पूर्णता गरिदियोस् यहीँबाट महाधिवेशन प्रारम्भ हुन्छ,’ उनले भने।