शिक्षामा सूचना तथा प्रविधिको महत्त्व

462

अनन्त घिमिरे ।
आजको युग सूचना प्रविधिको युग हो । सूचना प्रविधिले शिक्षण र सिकाइका नयाँ विधि र मान्यतालाई अभूतपूर्व रुपमा अघि बढाएको छ । शिक्षाका पाठ्यक्रम निर्माणदेखि त्यसको कार्यान्वयन र मूल्यांकनका सम्पूर्ण अवधिमा सूचना तथा प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ । शैक्षिक सस्थाहरुमा जुनसुकै काम र क्रियाकलापलाई अघि बढाउने हो भने सूचना प्रविधिबिना अघि बढाउने प्रयत्न गरिएमा त्यो अपूर्ण हुन्छ भन्ने मान्यतालाई सबै पक्षले स्वीकार्नुपर्छ । शिक्षा तथा सूचना र सञ्चार प्रविधिबीच गहिरो सम्बन्ध छ । शिक्षामा प्रविधिको प्रयोग आजको शिक्षा प्रणालीभित्रको महत्वपूर्ण अवयवको रुपमा रहन गएको छ । कक्षा कोठामा प्रविधि प्रयोगका कारण हाम्रो परम्परागत पठनपाठनको सिद्धान्तलाई विस्थापित गरी नयाँँ अवधारणाको शुरुवात भएको पाइन्छ ।युगानुकूल सूचना र प्रविधिको विकास तथा प्रयोगमा अगाडि बढेका मुलुकको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय एवम् अन्य क्षेत्रमा भएको प्रगति उल्लेखनीय छ भने सूचना र प्रविधिमा कम पहुँच हुने मुलुकहरूको बीचमा ठूलो खाडल रहेको आभाष हुन्छ । यही असमानतालाई मध्यनजर गर्दै नेपालले पनि शिक्षामा सूचना तथा सञ्चार प्रविधिको पहुँचको अभावले सिर्जना गरेको खाडललाई कम गर्दै लैजाने प्रयासको थालनी गरेको छ । शैक्षिक संस्था तथा शिक्षकले प्रविधिको प्रयोग मार्फत आफ्ना पठनपाठनका कार्यहरू गर्नुपर्ने भएको छ । रेडियो, टेलिभिजन, कम्प्युटर, प्रोजेक्टर, डिजिटल क्यामेरा तथा इमेल इन्टरनेट जस्तो सूचना तथा सञ्चार प्रविधिका उपकरणहरू शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त, दक्ष र प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ ।चित्र, रङ्ग र ध्वनिको सम्मिश्रण हुने हुनाले यसबाट प्रभावकारी शिक्षा प्रदान गर्न सम्भव हुन्छ । ग्रामीण भेगमा दूर शिक्षाको माध्यमबाट शहरी क्षेत्रको सुविधासम्पन्न विद्यालयमा भएका विविध शैक्षिक क्रियाकलाप एवम् पठनपाठनका तरिका देखाउन सकिन्छ । भौतिक पूर्वाधारको अभावमा प्रयोगात्मक कक्षा हुन नसक्ने ठाउँमा अन्यत्र भएका प्रयोगात्मक कक्षाको श्रव्यदृश्य सामग्रीको प्रयोग गरेर देखाउन सकिन्छ । सूचना प्रविधिको द्रुतरत विकास, बढ्दो प्रयोग, यसमा निहीत विषय वस्तुको प्रकृति र घट्दो मूल्यका कारण शिक्षण सिकाइ प्रक्रियामा यसको प्रयोग अर्थपूर्ण हुने देखिन्छ ।
इन्टरनेट सेवाले विश्वलाई एउटा सानोे गाउँ र प्रत्येक विद्यार्थी तथा शिक्षकलाई एकापसमा जोड्ने सेतुको कार्य गर्छ । विश्वको कुनै एउटा कुनामा बसेर अर्को कुनाको हालखबर तथा ज्ञानका कुरा सहजै हासिल गर्न सकिने र आफ्ना प्रतिक्रियाहरू पनि तुरुन्तै प्रदान गर्न सकिन्छ । यसका कारण शैक्षिक संस्थामा केही आर्थिक बोझ भने अवश्य पर्न सक्छ र शिक्षकले पनि आफूलाई प्राविधिक रूपमा पनि दक्ष बनाउनुपर्ने देखिन्छ । जब हाम्रा शैक्षिक संस्थाहरू प्रविधिमैत्री हुन्छन् तब विद्यार्थीले आवश्यकता अनुसार एकल अथवा समूहमा शैक्षिक क्रियाकलाप गर्नेछन् ।
यसले उनीहरूलाई बढी समाजिकीकरण हुन सघाउँछ । यो उपाय शिक्षक केन्द्रितभन्दा प्रविधि केन्द्रित हुनेछ जसले विद्यार्थीलाई आफैँ सिक्न प्रेरित गर्छ र शिक्षकको परम्परागत भूमिकामा परिवर्तन ल्याउनेछ । विकसित देशहरूले यो प्रविधिलाई धेरै पहिले नै प्रयोग गरी शैक्षिक क्षेत्रमा ठूलो फड्को मारिसकेको परिवेशमा प्रविधिप्रति बेवास्ता गर्नु शिक्षालाई पुरानै ढाँचा र ढर्रामा हिँडाउने प्रतिगामी सोच बाहेक केही पनि हुन सक्दैन । शिक्षामा सूचना प्रविधिले सिर्जना गरेका चुनौति चिर्नुपर्ने र पाठ््यक्रमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउँदै परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता छ । शैक्षिक नीति निर्माताले शिक्षण सिकाइको गुणस्तरलाई वृद्धि गर्नका लागि सफलतापूर्वक सूचना प्रविधिको प्रयोगमार्फत शैक्षिक सेवाहरू दुर्गम ठाउँका विद्यालयहरुसम्म कसरी लैजान सकिन्छ भन्नेतर्फ सम्बन्धित निकायले समयमै ध्यान पुर्याउनु पर्ने देखिन्छ ।जय होस् ।                 लेखक : श्रीकृष्ण मावी पाणिनी ०५ मैदानका शिक्षक एवम् नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।