पोखरा । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले नेपालमा धार्मिक विखण्डन ल्याउने काम नेताहरुले नै गरेकाले ति नेतालाई चिन्न र चिनाउन आवश्यक रहेको बताएकी छन् । विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालमा विभिन्न धर्म भित्याएर धार्मिक विखण्डन गराउन खोजिएको भन्दै उनले सतर्क रहनुर्पेमा समेत जोड दिइन् ।
विश्व हिन्दू महासंघ नेपाल कास्कीद्धारा आयोजित भत्तेपात्रो विमोचन तथा पत्रकार सम्मान कार्यक्रममा सांसद कोइरालाले यस्तो बताएकी हुन् । उनले विश्व हिन्दू महासंघ आवश्यकता अनुसार जन्मिएको र सोही बमोजिम अघि बढेको बताइन् ।
देशको राजनीति निकै तरल भएको र यसले सबै क्षेत्रमा समस्या निम्त्याएको भन्दै उनले देशलाई अनिर्णयको बन्दी बनाउन नहुने बताइन् । देशको मूल नीति राम्रो नभए जनताले दुःख पाउने भन्दै यसतर्फ सबैले ध्यान पुर्याउनुपर्ने उनले बताइन् ।
विकृति र विसंगति विरुद्ध लड्न हरेक पलमा अग्रसर रहन र साथ दिन आफू तयार रहको स्पष्ट पार्दै उनले यसमा पत्रकार पनि सचेत हुनुपर्नेमा जोड दिइन् । पूरातन संस्कार र आदर्श कसैले भुल्न नहुने भन्दै उनले भगवान सबैको मनमा रहेको र गलत कार्य रोक्ने काम उनै भगवानले गर्ने बताईन् ।
स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले हिन्दू धर्ममाथि निकै संकटमा रहेको बताए । बलिप्रथा र छुवाछूतको आरोप लाग्ने गरेको भन्दै उनले मानवताको भावले अघि बढ्नुपर्ने र आरोपलाई चिर्नुपर्ने स्पष्ट पारे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले सनातन धर्म रक्षाका लागि सदैव साथ दिने प्रतिवद्दता जनाइन् । राष्ट्रमा संकट आउदा र धर्ममाथि प्रहार हुँदा विश्व हिन्दू महासंघ खरोरुपमा उत्रिएको र त्यसमा सञ्चार जगतले साथ दिंदै आएको र अब पनि साथ दिने उनले बताइन् । उनले राष्ट्र र धर्ममाथि धावा बोल्नेलाई पत्रकार र सञ्चार जगतले पनि नछाड्ने स्पष्ट पारिन् ।
गीताञ्जली साहित्य परिवारका अध्यक्ष रामनाथ अधिकारी संगीले सनातन हिन्दू धर्म, संस्कार, संस्कृति र पहिचानलाई बेच्ने काम गरेको आारोप लगाए । उनले हामी सबै हिन्दूको गर्भबाट जन्मिएको भएकाले हिन्दू धर्म र हिन्दू राष्ट्र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
विश्व हिन्दू महासंघ गण्डकी प्रदेशका सचिव भानु भण्डारी क्षितिजले देशमा विकृति र विसंगति अन्त्य भएर जावस भन्ने कामना गरे । उनले नेपाली जनता हिन्दू धर्ममा विचलित हुनु विडम्वना भएको भन्दै चिन्ता प्रकट गरे ।
विश्व हिन्दू महासंघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष वेधनीधि शर्माले हिन्दूत्वले सबैको रक्षा गरिरहेको अवस्थामा धार्मिक विखण्डन ल्याउन खोजिएको आरोप लगाए । धर्म, संस्कार र संस्कृति नरहे हामी मानवको अस्तित्व नै संकटमा पर्ने भन्दै उनले यसको रक्षाका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।
पत्रकार सुष्मा पौडेलले जे काम गर्छाैं मनैदेखि गर्नुपर्ने बताईन् । विश्व हिन्दू महासंघको गतिविधि प्रति उनले खुलेर प्रशंसा गरिन् ।
युवा समितिका संयोजक युवक लामिछाने धर्ममा संकटल आाएकाले पत्रकारदेखि सबैले आवाज उठाउनुपर्नेमा जोड दिए । उनले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि आफूहरु धार्मिक सहिद बन्न पनि तयार रहेको स्पष्ट पारे ।
संस्थाकी अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष श्याम श्रेष्ठ र सञ्चालन महासचिव कमल पौडेलले गरेका थिए ।
कार्यक्रममा भित्तेपात्रो प्रकाशन समितिका संयोजक अम्मर पुन, सदस्य सपना गिरी, सम्पादक गिरीराज शर्मा, आर्थिक संयोजक उषा माता, विज्ञापन संयोजक हरिराज कोईराला लगायतलाई सम्मान गरिएको थियो । उक्त अवसरमा कलाकार विना पुनले नृत्य प्रस्तुत गरेकी थिइन् । साथै नेपाल पत्रकार महासंघ कास्की, गण्डकी प्रदेश, केन्द्र र पार्षदमा निर्वाचितहरुलाई बधाई ज्ञापन गरिएको थियो ।