एमाले बैठकको निर्णय- मूल पार्टीमा नफर्किए थप कारबाही

229

नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल समूहलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले समानान्तर कमिटी छाडेर मूल पार्टीमा फर्कन आग्रह गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।  पार्टीको नाममा विभिन्न भेला र सामानान्तर कमिटि गठन गर्दै जाने साथीहरूलाई मूल प्रवाहमा फर्किएमा उनीहरूलाई उचित जिम्मेवारी दिने ज्ञवालीले जानकारी दिए।

ज्ञवालीले पार्टीमा नफर्किए कर्णाली प्रदेशका सांसदहरुलाई जस्तो थप कारबाही हुने चेतावनीसमेत दिए। उनले नेपाल समूह फर्किए स्थायी कमिटी बैठकमा पनि राखिने स्पष्ट पारे।

शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले स्थायी कमिटी गठनसँगै नेताहरूको जिम्मेवारी पनि तोक्ने निर्णय गरेको छ।

बैठकले माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। स्थायी कमिटीमा बामदेव गौतमलाई भने राखिएको छ।

यस्तै, आजको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए।

वैशाख ६ देखि शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल भएको थियो।