दधिराम अधिकारी
पाणिनी-५ मैदान, अर्घाखाँची । म श्री भानु माध्यमिक बिधालयमा कक्षा ५ मा अध्ययनरत थिए । २०६२ साल फाल्गुन महिनाको १६ गते दिउँसो बिधालय समयमा एक्कासि बन्दुक पड्केका आवाजहरु सुनिन थाले, सबै बिद्यार्थीहरु बिधालयको प्राङ्गणमा जम्मा भयौं, कोलाहल मच्चियो, हाम्रो टाउको नजिकै माथिबाट हेलिकप्टरहरु उड्न थाले बन्दुक र बमका आवाजहरुको ध्वनि झन बढी फैलियो, ४५ मिनेट लाग्ने बिधालयबाट घर पुग्ने बाटो  पार गरि घरमा पुग्न पाए त बाचिन्थ्यो भन्ने सोचाइ आउन थाल्यो । कहिले रुखका झाडिमा लुक्दै त कहिले ढुङ्गाका कपेरामा लुक्दै जसोतसो घर पुगे । त्यतिबेला अहिलेजस्तो सामाजिक संजाल तथा सञ्चारको पहुच नभएको कारणले दिउँसो खासमा भएको के हो भन्ने कुरा बुझ्नको लागि साझ रेडियो नेपालबाट प्रसारण हुने ७ बजेको समाचार कुर्नुको विकल्प थिएन। साझ ७ बजेको समाचारको मुख्य खबर थियो “अर्घाखाँचीको पणेनामा माओवादी र नेपाली सेनाबिच गोलि हानाहान”  त्यो दिनको त्यो समाचारले मेरो बाल मस्तिष्कमा नराम्रो छाप बनाएको थियो ।  बिधालय जादा बाटोमा देखिने बन्दुक भिरेका नेपाली सेना तथा शासकको शैलिमा गाउँ  गाउँमा थर्काउदै हिड्ने तत्कालिन जनमुक्ती सेना देख्नासाथ मेरो दिमागमा त्यो दिनको घटनाको झल्को आउथ्यो ।                           २०५८ सालको दरबार हत्या काण्ड अलिअली मात्र सम्झिने मैले सत्ता र शासन व्यावस्था परिवर्तनका नाराहरु बोकेर आमूल परिवर्तनको आकाक्षाहरु बोकेर  गाउँ गाउँमा खाना खान, बास बस्न तथा चन्दा उठाउन आउने माओवादी जनमुक्ती सेनाहरुलाइ पहिलेदेखी नै देख्दै तथा सत्ता र शासन व्यावस्था परिवर्तन गर्दै देशमा आमूल परिवर्तन गर्ने सपनाहरू बाड्दै हिडिरहेका आन्दोलनकारिहरुका विचार सुन्दै आइरहेको  भएपनी   राजनिती, सरकार, माओवादी, आन्दोलन आदिजस्ता  विषयमा अनबिग्य नै थिए  ।
आखिर किन भइरहेको छ त यो सब? राजनिती के हो?, सरकार को हो?, माओवादी को हुन? आदिजस्ता प्रश्नहरुको उत्तर खोज्न मेरो बाल मस्तिष्क लालाहित हुन्थ्यो ।  दिल्लीमा भएका सम्झौताका समाचार हुन या राजा ज्ञानेन्द्रको बर्हिगमनका समाचारहरु हुन म हरेक राजनितिक बिशयवस्तु गहिरिएर बुझ्ने कोशिश गरिरहेको हुन्थे । कहिले देशमा नयाँ संविधान निर्माण संगै देश स्विजरल्यान्ड   बन्ने कल्पना गर्दै त कहिले  देशमा समृद्धि ल्याउने सपना बाडिरहेका नेताहरुलाइ साथ दिन उनिहरुकै झन्डा बोक्दै गर्दा देशमा भएका राजतन्त्रको अन्त्य, गणतन्त्रको घोषणा, अनेकौ सरकार परिवर्तन, संविधानसभाको भिघटन, पुन निर्वाचन लगायतका   घटनाक्रमहरुले खिन्न भएको मेरो मनमा  नयाँ संविधान निर्माणसंगै पुन समृद्धिको आशा पलाएको थियो  । नयाँ संविधानको कार्यान्वयन  संगै सत्ता र शासकिय स्वरूप परिवर्तन गरि देशमा आमूल परिवर्तनको सपना देख्दै  आन्दोलन गरिरहेका सबैका सपनाहरु पूरा हुनेछ्न भन्ने सोच्न थालेका म जस्ता करडौ नेपालीहरुको  मस्तिष्क अहिले भइरहेका राजनितिक घटनाक्रमहरुले फेरि खिन्न हुन थालेको छ।

मुलुकमा संघियता आएसगै घरघरमा सिंहदरबारको सपना देखिरहेका जनताहरु स्थानीय सिंहदरबारका सिंहहरुको मिचाहा प्रवृत्तिले जनताहरुमा संघियता र एकात्मक शासन पद्धतिमा एकात्मक शासन पद्धति नै रोजाइमा पर्न थालेको छ ।

बाल्यकालमा मनमा उब्जिरहने सरकार के हो? माओवादी को हुन आदिजस्ता प्रश्नहरुको उत्तर पाएपनी  आजभोली फेरि मनमा, के राजनीति पेसा हो? साच्चै राजनिती गर्नेहरुको ईमान नै हुदैन त?  राजनीती  दया,माया आदिजस्ता भावना नभएका मान्छेहरुले खेल्ने एउटा खेल हो? आदिजदस्ता प्रश्न उब्जिन थालेका छ्न । जनतालाइ विभिन्न आसा र  प्रलोभन देखाउदै सत्तामा पुग्ने र सत्तामा पुगिसकेपछी जनता नै को हुन भन्ने बिर्सनु नेपाली राजनीतिको नियमित प्रक्रियाजस्तै भएको छ । राजनितिलाइ एउटा पेशा बनाएर त्यसैको माध्यमबाट आफू लगायत आसेपासेलाइ पोस्ने प्रवृतीको विकास हुदा दुरदराजमा रहेका सोझासाझा र राजनीतिलाई असल अभ्यासको रुपमा बुझिरहेका म जस्ता लाखौं जनताहरुलाइ राजनीति प्रती वितृष्णा पैदा हुन थालेको छ । सर्वसाधारण जनतालाइ  विकास निर्माण लगायत देशका हरेक क्षेत्रमा पहुँच पुर्याउन राजनितिकै बुइ चड्नुपर्ने प्रवृत्तिले गर्दा राज्यका सबै क्षेत्रमा सबै जनताहरु समान पहुच हुनुपर्ने कुरा संविधानको परिकल्पनामा मात्रै सिमित हुन पुगेको छ ।

मैले राजनिती बुझ्ने कोशिश गर्न थालेको करिब १५ बर्षको अवधीमा  मैले राजनिती बुझ्न सकिन कि  नेपालमा राजनितीको असल अभ्यास हुन सकेन  भन्ने प्रश्नमा दोधार भैरहेको छु । मेरो बुझाइमा राजनीति देश र जनताको हितको लागि गरिने एउटा असल अभ्यास नै राजनिती हो । तर हाम्रो देशका राजनितीज्ञहरुले राजनितीलाई व्याक्तिगत र दलगत स्वार्थ तथा सत्ता प्राप्तीको हतियारको रुपमा प्रयोग गर्दै राजनितीको वास्तविक परिभाषा नै तोडमोड गरिरहेका छन । जस्ले गर्दा देश समृद्ध भएको देख्न चाहने करोडौ नेपालीको  ईक्ष्यामाथी त कुठाराघात भएको छ नै म जस्ता राजनिती बुझ्न खोज्ने लाखौ युवाहरुको मनमा राजनीतिलाई एउटा फोहोरी खेल हो भन्ने भावना विकास हुन थालेको छ ।