काठमाडौँ । एमालेको महाधिवेशन आयोजक कमिटीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले खनाल–नेपाल पक्षलाई बाइपास गर्दै आज एकलौटीरुपमा स्थायी कमिटी पुनर्गठन र महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ ।
आज बालुवाटारमा ओलीको अध्यक्षमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले पार्टीको स्थायी कमिटी पुनर्गठन गर्दै महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको हो ।
१८ सदस्यीय स्थायी कमिटीमा खनाल–नेपाल पक्षका नेताहरुलाई समेटिएको छैन । यद्यपि, वामदेव गौतमलाई भने स्थायी कमिटी सदस्यमा मनोनित गरिएको छ । आजको बैठकको निर्णय सुनाउँदै एमाले ओली पक्षका नेता प्रदिप ज्ञवाली ।
२०७५ जेठ २ सम्म कायम एमाले स्थायी कमिटीमा भने खनाल–नेपाल पक्षीका १० जना नेताहरु पनि सदस्य थिए । तर आज पुनर्गठित कमिटीमा भने उनीहरूलाई स्थान दिइएको छैन । फुटको अभ्यास गरेको र पार्टीको निर्णयविरुद्ध लागेकाले कमिटीमा नसमेटिएको ज्ञवालीको भनाइ छ । यद्यपि, आफ्नो गल्ती महसुस गर्दै आत्मालोचना गरेर पार्टीमा आउन भने आग्रह गरिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पनि पार्टी गुटगत गतिविधि गरेकै कारण नेपाल समूहका नेताहरुलाई कारबाही गरिएको बताउनुभयो । सकेसम्म अझै गल्ती महसुस गरेर अनुशासित भएर पार्टीमा भएर काम गरे त्यो अवसर दिइने बताउनुभयो । तर यो अवसरलाई कमजोरी ठाने त्यो सम्भव नहुने ओलीको चेतावनी छ ।
यता, नेपाल पक्षले माओवादी केन्द्रसँग पार्टी एकता हुनुपूर्वको अवस्थामा पार्टी फर्काउनुपर्ने र पछिल्ला निर्णयहरु बदर गर्नुपर्ने अडान लिएपछि एमालेमा अन्तरसंघर्ष सुरु भएको हो । बुधबार र बिहीबार दुई पटक भएको ओलीसँगको भेटमा पनि आलीले आफ्नो अडान नछाडेपछि वार्ता भाँडिएको र पार्टी झनै विभाजन उन्मुख भएको नेता नेपालको भनाइ छ ।
नेता नेपालले पार्टी अध्यक्ष ओलीको अहंकार धरहरामाथि पुगिसकेको टिप्पणी गर्नु भएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले ओलीको अंहकार र दम्भका कारण लोकन्तन्त्र धरापमा परेको बताउनु भएको हो ।
ओलीले मनपरी गरेको भन्दै नेपालले व्यक्तिवाद, गुटवाद, निरकुंश प्रवृत्ति र ओलीको दृष्टिकोणमा खोट रहेको आरोपसमेत लगाउभयो ।
पार्टीमा विवाद जारी रहेकै बेला एमालेमा दुई खेमाका नेतृत्व गरिरहेका अध्यक्ष ओली र माधव नेपालबीच वार्ता सुरु हुँदा कार्यकर्तामा छाएको उत्साह अहिले फेरि निराशामा परिणत भएको छ । दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहट्दा एमालेमा जारी अन्तरसंघर्ष झनै चर्किँदै जाने राजनीतिक विश्लेषकहरुको बिश्लेषण छ ।
यसैबीच, एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाट हटाएको छ । आजको बैठकले पार्टीको कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई कारवाही गरेको हो ।