एमालेको स्थायी कमिटी गठन: खनाल–नेपाल पक्षधर ‘आउट’, पूर्वमाओवादी ‘इन’

259

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो ।

माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत नेतालाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।

एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहनुभएको छ । बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो । यसैबीच, एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी मत दिने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ ।

विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बन्नुभएका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहनेगरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो ।