तपाईको माक्स खोई ? अभियान अर्घाखाँचीमा सञ्चालन !

298

कृष्ण परियार
अर्घाखाँची, ११ बैशाख । देशभर कोरोनाको दोस्रो लहर चले सँगै स्वास्थ विज्ञहरुले विभिन्न चासो र चिन्ता व्यक्त गर्न थालेका छन ।

पछिल्लो समयमा दैनिक कोरोना संक्रमण दर बढ्न थालेपछि जनमानसमा चिन्ता पर्न थालेको छ । कोरोनाका कारण लामो समयको लकडाउन पछि सामान्य बन्न लागेको दैनिकी फेरि कोरोनाका कारण प्रभावित हुन थालेको छ ।

संघिय ,प्रदेश र स्थानिय सरकारले अहिले जनस्वास्थका मापदण्डहरुलाई कडाईका साथ पालना गर्न आम सर्वसाधारणहरुलाई आग्रह र अनुरोध गर्दै आएका छन् ।
कोेरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले तपाईको माक्स खोई अभियान संचालन गरेको छ । कोरोना भाईरस बाट सवैलाई सुरक्षित रहन आग्रह गर्दै समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम अन्र्तगत सन्धिखर्कमा तपाईको माक्स खोई अभियान सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो ।

आफ्नो घर भन्दा बाहिर निस्कीदा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न र जनस्वास्थका मापदण्डहरुलाइ पालना गर्न सम्पुर्ण लाई आग्रह गर्दै सन्धिखर्कमा जनचेतना मुलक ¥याली समेत निकालिएको थियो । बजार परिक्रमा गरेको ¥यालीले कोरोनाबाट बच्नको लागी अनिवार्य माक्सको प्रयोग गर्न आम सर्वसाधरणलाई अनुरोध गरेको छ ।

यदि कसैले हेलचेक्र्रराई गरेमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही र सजाय हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सुचाना अधिकारी सुजन बिक्रम शाहले बताए ।

यस्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आदेश जारी गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेपछि रोजगारीको शिलशिलामा भारतमा रहेका नेपालीहरु फर्कने क्रम बढेपछि जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

विहिबार साँझ बसेको सर्वदलिय सर्वपक्षिय उपस्थीती सहितको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त आग्रह गरेको हो ।

बैठकले अती आवस्यक काम नपरि घरबाट ननिस्कन आग्रह गर्दै निस्कनै परेमा अनिवार्य मास्क लगाउन पर्ने, “सिनेमा हल, पार्टीप्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ ।
धार्मिक क्रियाकलाप तथा विवाह लगायतका कार्यमा २५ भन्दा बढी उपस्थित नहुने, सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सवारी साधन दैनिक रूपमा निसंक्रमित गर्नुपन, होटल तथा रेष्टुरन्ट बिहान ८ देखि साँझ ८ बजेसम्म मात्रै खोल्न पाइने ,होटल तथा रेष्टुरन्ट, पसलमा आउनेले अनिवार्य मास्क लगाउन पर्ने, बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यका लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने लगायत बैठकले निर्णय गरेको छ ।

स्थानीय तहले होम क्वारेन्टिन र होम आइसोलेसनमा बसेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँचका लागि आवश्यक पर्ने देखिएमा प्रयोगशाला वा अस्पतालसँग समन्वय गरी सहजीकरण गर्नुपर्ने छ । कोभिड–१९ को चिह्न तथा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा पोजेटिभ आएका व्यक्तिको पिसिआर परीक्षणको व्यवस्था गर्नुपर्ने छ ।
जारी प्रावधानको अवज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पुर्याउने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही र सजाय हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।