काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ । उनको पशुपतिस्थित वैद्यखानामा आज विहान निधन भएको हो । उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
ओखलढुंगा जन्मघर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । सुरुमा उनलाई उपचार गर्न त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसीमा ल्याइएको थियो । पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए ।
तर, पछि पौडेलको पशुपतिमा देहत्याग गर्ने इच्छाअनुसार नै पशुपतिस्थित वैद्यखानामा लगिएको थियो ।
‘एक योग्य पुरुषको बिदाई पुर्वीय दर्शन तथा संस्कृत साहित्यका रत्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राष्टिय सभा सदस्य आदरणीय विदुर पौडेल भौतिक रुपमा रहनु भएन ।नेपालले एक रत्न गुमाएको छ भने संस्कृत साहित्यमा अपूरणोय क्षति पुगेको छ। दाजुको बैकुण्ठ बासको कामना,’ पौडेलबारे जानकार कांग्रेस नेता चन्द्र भण्डारीले भने ।
उनी नेपाली राजनीतिमा वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह एवम् कृष्णप्रसाद भट्टराईका अनुयायी समेत रहेको नेता भण्डारी बताउँछन् ।