काठमाडौँ । नेकपा (एमाले) पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शनिबार एक वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलनमा लागेका सबै नेता-कार्यकर्ताहरुले आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न आह्वान गरेका छन्।

मई दिवसको अवसर पारेर जारी गरेको वक्तव्यमा नेता गौतमले ‘मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन्। आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु तिनलाई सच्याउन लागिपरेको पनि छु’ भन्दै ‘भविष्यमा सबै क्रमश: स्पष्ट हुँदै जाने’ बताएका छन।

सन् २०२१ को मइ दिवस अथवा संगठित सर्वहारा वर्गले आफ्नो रगतको अहालमा उभिएर संसार भरिका पुँजीपतिहरुका विरुद्धको लड़ाइँमा पहिलो सफलता घोषणा गरेको दिन भएको स्मरण गराएका छन्।

उनले अहिले श्रमजीवी वर्गका नेताहरूले सत्ता स्वार्थ प्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छिया छिया बनाइ रहेको उल्लेख गरेर यो कृयाकलाप रोक्न सकिएन भने प्रतिगमन प्रतिस्थापित हुने दाबी गरेका छन्।

वक्तव्यमा गौतमले अब यस्तै भए ऐतिहासिक उपलब्धि समाप्त हनेछन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको सम्वृद्ध समाजवादमा पचासौं वर्षसम्म पर्दा लाग्नेछ भन्दै सचेत गराएका छन्।

एमालेका उपाध्यक्षसमेत रहिसकेका वामदेव अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तीव्र अन्तरविरोध चलिरहेका बेला एकताको अडान राखेर बीचमा बसिरहेका छन्।