अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रम गरी खाने वर्गको गौरवपूर्ण दिन हो : उपप्रधानमन्त्री पोखरेल

297

काठमाडौं –  उपप्रधानमन्त्री ईश्वर पोखरेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेको श्रमजीवि नेपालीहरुलाई शुभकामना दिएका छन्। शनिबार एक विज्ञप्ति निकाल्दै पोखरेलले आजको दिन श्रम गरी खाने वर्गको गौरवपूर्ण दिन रहेको बताएका छन्।

‘नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्ग तथा ट्रेड युनियनले खेलेको भूमिकाको स्मरण गर्न चाहान्छु। यतिबेला हामी समृद्ध नेपाल निर्माणको महाअभियानमा छौं। यो महाअभियानलाई सफल बनाउन श्रमिक वर्गको निकै महत्त्वपूर्ण भूमिकाको अपेक्षा गरेको छु,’ उप्रधानमन्त्री पोखरेलको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, उनले वर्तमान सरकारले श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिएका छन्। सरकारले श्रम क्षेत्रमा बजेट वृद्धि गर्नुका साथै दक्ष जनशक्ति निर्माण, रोजगार सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका आधारित विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। निषेधाज्ञाका कारण श्रम गर्ने वातावरणमा बाधा पुगेको बताउँदै उनले श्रमिकहरुलाइए उद्योगभित्रै खाना र बासको व्यवस्था गरी उद्योग सञ्चालन गर्न अनुमति दिएको प्रष्ट पारे।