विकृत नेपाली राजनीति !

69

अनन्तप्रसाद घिमिरे,
अर्घाखाँची । मानव सभ्यतामाथी नै धावा बोल्ने कोरोना भाइरसको महामारीले सर्वसाधारण जनताहरु भौतिक र मनोवैज्ञानिक रुपले थला परेको अवस्थामा देशमा राजनीतिक दुर्गन्धले भने जरो गाड्दै गएको छ । नेताहरुकाआ–आफ्नै सुबिधा र दुबिधाका भाषणले नेपाली राजनीतिमा तीव्ररुपमा बढ्दै गएको विकृतिले देश र जनताबीचमा आतंक र तनावपूर्णको वातावरण सृजना गर्न कुनै कसुर छोडेको छैन । जनताका गुनासो, समस्या र आवश्यकतालाई पैताला मुनी राखेर उच्च स्वरले बीच सडकमा देश विकास र नागरिकले पाउने सेवा सुविधाका बरेमा भाषण दिँदै हिँड्ने परम्परा कायम नै छ । वर्तमान अवस्थामा यो प्रवृति निकै माैलाउदै गएको देखिन्छ तर जनताले आफ्नो हितको सेवासुविधा भाषणमा बाहेक अन्यत्र कतै नपाएको अवस्था छर्लङ्ग छ।यहाँनेर कवि लेखनाथ पौड्यालको कविता घतलाग्दो बन्न पुग्छ-

जो दिदैन उहीँ दिन्छु भनी गर्जन्छ सत्वर।
जो हो नबर्सने मेघ उसैको हुन्छ घर्घर।।

राजनीतिक संस्कृतिमा मौलाएको विकृतिले अब डुङ्गा डुबाएरै छोड्ने छाँटकाट देखाइसकेको छ । अलग सोच र सिद्धान्त बोकेका दलहरु विपरीत ध्रुबतिर लागेको कुरा बुझ्न सकिन्छ । तर, एउटै सिद्धान्त र विचारधार बोकेर हिँड्ने दलभित्रका नेताहरुले विपरीत दिशातिर लाग्नु भनेको आफ्नो स्वार्थ परिपूर्ति गर्न चुनेको दिशामात्र हो भनेर भन्न कन्जुस्याइँ गर्नुपर्ने अवस्था छैन । संसद विघटन भएर अदालतको आदेश बमोजिम पुनः स्थापना भएदेखि विभिन्न दलहरुको आ–आफ्नो दाउ छ । हुन त नेपालमा राजनीतिक अस्थिरताको इतिहास लामो छ । अस्थिर राजनीतिको यो श्रृंखला निरन्तर छ । आन्तरिक राजनीतिक शक्तिहरु बीच उत्पन्न भइरहने शक्ति संघर्षले अस्थिरता उत्पन्न गर्ने पक्षलाई मलजल पुगिरहेको छ ।

निरन्तर अस्थिरताले आक्रान्त नेपालमा स्थायित्व नआउनुको कारण आन्तरिक राजनीतिक शक्तिबीचको स्वार्थ द्वन्द्वको विकृति प्रमुख हो । यस्तै राजनीति द्वन्द्व र विकृतिका कारण नेपालले आवश्यक राजनीतिक स्थायित्व आर्थिक र संवैधानिक स्थायित्व प्राप्त गर्न नसकेको यथार्थ हो । कहिले आफ्नै कच्चा खेलबाट बाहिरिने, कहिले देश बाहिरको षड्यन्त्रको सिकार बन्ने यो नै नेपाली राजनीतिको वर्तमान अवस्था छ । दुई डुङ्गाबीचको तरुल नेपाल जो माथि यो निश्चित छ कि नेपाली राजनीतिको मैदानमा विदेशी खेलाडीहरुको दवाव र प्रभाव भने निकै बेजोड छ । जसले नेपाली राजनीतिमा स्थिरता कायम रहन नदिएको महशुस हुन्छ ।

नेपालको भूपरवेष्टित अवस्था, भौगोलिक अवस्था र संवेदनशील भूराजनीतिक अवस्थाले नेपालको सामरिक महत्व अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको माझमा प्रख्यात छ । छिमेकी राष्ट्रको शक्ति बढिरहेको बेला हामी भने अस्तित्वको लडाइँमा छौं, आफ्नो दुनो सोझ्याउनमा नै व्यस्त छौं । सबैभन्दा ठूलो समस्या त के छ भने अस्तित्वको लडाइँमा हामी कोरा सिद्धान्तमा बाँडिएका छौं, त्यो नै राष्ट्र र राष्ट्रियताका लागि सबैभन्दा ठूलो खतरा हो । हाम्रो आँखामा स्वार्थको पट्टि लागेको छ । जबसम्म नेताहरुले राजनीतिक संस्कारलाई भुलेर जनताका दुःख–पीडालाई भाषणको एक किस्सामात्र बनाउँदछन् अनि गफमा मात्र राष्ट्रवादका कुरालाई सिमित राख्दछन् तबसम्म विकास हुन असम्भव छ ।आफ्नो हित, सत्ता र सुविधाका लागि जे गर्न पनि पछि नपर्ने नेताहरु र नेताहरुको मिथ्या भाषणले नेपाली जनताको कान पाकिसकेको छ । अझै पनि यस्तो अवस्था दोहोरिइ रहने हो भने जनताहरुले पनि कुनै नयाँ व्यवस्थाको बारेमा नसोच्लान भन्न ससकिदैन। जय होस् ।