उदयको टिप्पणी : एमालेमा नैतिकता भन्ने चीज नै कहाँ छ र ?

358

काठमाडौं : नेपाली कांग्रेसका नेता उदय शम्शेर राणाले सत्तारुढ दल नेकपा एमाले स्थापित विधि, पद्धति र संविधान कुल्चेर अगाडि बढेको आरोप लगाएका छन् ।

उनले संविधान र संवैधानिक व्यवस्थाविपरीत हुने गरी लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई पुन मुख्यमन्त्रीमा नियुक्त गरेको घटनाको निन्दा गरेका हुन् ।

पूर्व अर्थराज्य मन्त्री राणाले प्रदेश सभा छल्न मुख्यमन्त्री पोखरेलले राजीनामा नाटक गरेको र बहुमत नहुँदा नहुँदै प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु संविधान र संसदीय व्यवस्थाको विपरीत भएको टिप्पणी गरे ।

उनले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेल र प्रदेश प्रमुखले बलमिच्याईं गरेको आरोप लगाए ।

‘अविश्वास प्रस्तावमा छलफल गर्न विशेषअधिवेशन बस्ने दिन राजीनामाको नाटक रचियो। प्रदेशसभा छल्दै बहुमतलाई बाहिर राखेर अल्पमतलाई फेरी मुख्यमन्त्री बन्नुरबनाउनु संविधान र संसदीय व्यवस्थामाथिकै बलमिच्याई हो,’ आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा नेता राणाले लेखेका छन् ।

उनले एमाले नेतृत्वको केन्द्रको सरकारले पनि संसद विघटनदेखि सांसद अपहरणसम्मका घटनाले एमाले पार्टीमा नैतिकता नै नरहेको जीकिर गरेका छन् ।

उनले व्यंग गर्दै भने, ‘हुन त, एमाले भन्ने पार्टीमा नैतिकता भन्ने चीज नै कहाँ छ र ?’

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अल्पमतका नेतालाई मुख्यमन्त्री नियुक्त र सपथ गराइएकोप्रति विपक्षी गठबन्धनले आपत्ति जनाएका छन् ।