हेलिकप्टर चढेर रामबहादुर थापा हेटौँडा पुगेर उम्मेदवारी दिए

107

काठमाण्डौ । राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा बादल हेलिकप्टर चढेर वाग्मती प्रदेशको सदरमुकाम हेटौँडा पुगेका छन् ।

गृहमन्त्री थापा सत्तारुढ एमालेको तर्फबाट उम्मेदवार बनेका हुन । एमाले बाहेकका दल र माधव नेपाल पक्ष एकैतिर हुँदा आफू पराजित हुन सक्ने भन्दै थापाले बिहानसम्म उम्मेदवारी दिन रुची नदेखाएपनि अन्तिममा उम्मेदवारी दर्ता गराएका हुन । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घीयता विज्ञ डाक्टर खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् ।

राष्ट्रिय सभा सदस्य उपचुनावमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन भएको छ । वाग्मतीमा हुने राष्ट्रिय सभा उपचुनावमा एक सय १० जना प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ जना गरी तीन सय ४८ मतदाता रहेका छन् ।

प्रदेश सभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को भुटनदेवी मावि भवनमा दुई वटा मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ ।